नेपालमा शनिबार ६८ जनामा कोरोना संक्रमण देखिएको छ। याेसँगै संक्रमितको संख्या ५ सय ८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बाँकेमा २७, बैतडीमा ४, बर्दियामा १, झापामा १ र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।
कोरानाभाइरस महामारीका कारण कतारमा रहेका नेपालीहरुको सहयोगका लागि कतार सरकार अगाडी सरेको छ। कतार सरकारले त्यहाँ रहेका नेपालीको राहत व्यवस्थापनका लागि करिव १ करोड ५० लाख रुपैयाँ बराबरको सहायता गरेको छ। कतार सरकारले सो सहयोग रकम गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्लाई उपलब्ध गराएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए। सो सहयोगबाट ५ हजार जना लाभान्वित हुने उनले बताएका छन्।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरू शनिबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३–३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७९ पुगेको छ ।
काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। संक्रमित व्यक्ति ग्राण्डीका स्वास्थ्यकर्मी भएको अस्पताल स्रोतले बताएको छ।
भारतमा कोरोना भाइरसको संक्रमण बाट गएको २४ घण्टायता अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन्। भारतिय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टा भित्रमा ६ हजार ६ सय ५४ जना सङ्क्रमित भेटिएका छन् । यो हप्ता दोस्रो पटक भारतमा ६ हजार जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा एक सय ३७ जनाको ज्यान गएसँगै भारतमा सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या बढेर तीन हजार सात सय २० पुगेको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन शुरु गरेका छन्। भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आई रोकिएकाहरु बिहीबारसम्म करीब आठ सय प्युठानीलाई भित्राइएको हो। जिल्लाका ७९६ प्युठानीलाई स्थानीय तहले उद्धार गरी ल्याएका हुन। जिल्लाका नौबहिनीका ३३, माण्डवीका १२५, मल्लरानीका ५५, ऐरावतीका २०३, गौमुखीका चार, सरुमारानीका ११५ र झिमरुक गाउँपालिकाका ६० जना छन्। त्यसै गरी स्वर्गद्वारी गाउँपालिकाका १७७ र प्युठान नगरपालिकाका १२४ जनालाई स्थानीय तहले सीमाबाटै उद्धार गरी स्थानीय तहका ल्याएर क्वारेन्टिनमा राखेका छन्।
कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित देखिएपछि प्रशासनले कैलालीको टीकापुरमा लकडाउनमा कडाइ गरेको छ। जानकी गाउँपालिकासँग टीकापुर जोडिएको पालिका हो। जानकीमा सङ्क्रमित देखिएपछि टीकापुरमा थप जोखिम बढेको छ। टीकापुर पनि जोखिममा रहेको भन्दै टीकापुर बजार बन्द गरिने तयारी प्रशासनले गरेको छ। टीकापुर बजारमा मानिसकोे आवतजावत पूर्णरुपमा बन्द गरिने टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन्।
चन्द्रागिरि नगरपालिकाका ६५ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएसँगै उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ। नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिका विभिन्न व्यक्तिको आरडिटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिएका छन्। विभिन्न जिल्लाबाट बन्दाबन्दीपछि चन्द्रागिरि प्रवेश गरेका व्यक्तिमा आरडिटी परीक्षण गर्दा उनीहरुमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो’, उनले भने, चन्द्रागिरिले ५६ लाई मनमोहन अस्पताल दहचोक, चारलाई नैकाप पार्टी प्यालेस, तीनलाई मङ्गल माध्यामिक विद्यालय, एकलाई चन्द्रागिरि कटेज र एक जनालाई होम क्वारेन्टाइनमा राखेको छ।
सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गराइरहेकी उनको शुक्रबार असामयिक निधन भएको हो । उनका भतिज प्रदीपलाल श्रेष्ठका अनुसार उनको ब्रेन ह्मरेजको शल्यक्रिया एकहप्ताअघि सफलतापूर्वक सम्पन्न भएको थियो । सर्वोच्च अदालतमा विसं २०५८ देखि २०६३ सालसम्म न्यायाधीशका रुपमा काम गरेकी उनी न्यायालयको इतिहासमा पहिलो महिला न्यायाधीश थिइन् ।
नेपाल पत्रकार महासङ्घ गुल्मीले कोरोना रोकथाम तथा उपचारका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ। महासङ्घ जिल्ला कार्यसमितिको शुक्रबार साँझ बसेको बैठकले जिल्लामा क्रियाशील पत्रकार एवं सञ्चारकर्मीका लागि रु डेढ लाखको कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो। पछिल्लो समय सञ्चारकर्मीमा पनि कोरोना संक्रमण देखिएकाले महासंघकै भवनलाई आइसोलेशन हाउस बनाउने निर्णय गरिएको पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताएका छन्।
डोल्पाको शे–फोक्सुण्डो निकुञ्जबाट गस्ती टोलीले २० थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामद गरेको छ। निकुञ्जबाट खटिएकोे गस्ती टोलीले त्रिपुरासुन्दरी नगरपालिकाका रुम र रसी तथा ठूलीभेरी नगरपालिकाका परिला र रह क्षेत्रबाट बेवारिसे अवस्थामा २० थान भरुवा बन्दुक, एक थान नाल र तीन थान घोरलको छाला बरामद गरिएको निकुञ्जले जनाएको छ।