काठमाडौँ– काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन्।
मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै मोटरसाइकल चालक रहेको बताइएको छ। बिहान ५ बजे बा८५प ५६६ र बा९१प ११८८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाई भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा अन्य तीन घाइते भएको र उनीहरुमध्ये सामान्यको यहाँस्थित ग्रिनसिटी अस्पताल र केही गम्भीर रहेका ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गोली लागेको अवस्थामा प्रहरी मृत फेला
काठमाडौँको हल्चोकस्थित प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत फेला परेका छन्। राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृत फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन्। उनको कच्चटमा गोली लागेको पाइएको छ।
उनको अनुसार आज बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा कोठामा चुकुल लगाइएको थियो। ढोका फोरेर हेर्दा कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेको उनले जानकारी दिएका छन्। कार्कीले आफ्नै पेस्तोलले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिएका छन्। उनको अनुसार घटनाको अनुसन्धान भइरहेको छ। रासस