एजेन्सी- फेसबुकको स्वामित्वमा रहेको विश्व चर्चित भिडियो तथा फोटो शेयरिङ्ग प्लेटफर्म इन्स्टाग्रामले भिडियो कलमा एकसाथ ५० जनासम्म जोडिन मिल्ने फिचर ल्याएकाे छ । कोरोना भाइरसकाे कारण जारी लकडाउन खुल्ने अनिश्चिततासँगै भिडियो कन्फ्रेन्सिङ एपको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै कम्पनीले साे नयाँ फिचर थप गरेको हो ।
कम्पनीकाे अनुसार फेसबुकले इन्स्टाग्राममा म्यासेन्जर रुम्स उपलब्ध गराएको छ । जसमा ग्रुप भिडियो कल गर्दा ५० जनासम्म एकसाथ सहभागी हुन पाउने छन् ।
यसको लागि इन्स्टाग्राममा डिरेक्ट नामक ट्याब उपलब्ध गराएको छ । साे ट्याबमा क्लिक गरेर प्रयोगकर्ताले त्यसभित्र दाहिने भागमा रहेकाे भिडियो ट्याबमा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ तपाईँलाई ‘क्रिएट अ रुम’ अप्सन दिइएको छ । जसबाट आफ्नो रुम बनाएर तपाईँले इन्स्टाग्राममा भएका अन्य साथीहरुलाई त्यसको लिंक शेयर गरेर भिडियो कलमा एड गर्न सक्नुहुनेछ ।
याे नयाँ अपडेटबारे जानकारी कम्पनीले हालै आफ्नो आधिकारीक ट्वीटर एकाउन्टमार्फत सार्वजनिक गरेको हो ।
यस्तो नयाँ फिचर थप भएसँगै इन्स्टाग्रामकाे अब जुम, ह्वाट्सएप, गुगल मिट, हाउसपार्टी र डुओ जस्ता चर्चित भिडियो कन्फ्रेरेन्स प्लाटफर्महरुसँग प्रतिस्पर्धा हुने भएको छ ।
के हाे त म्यासेन्जर रुम्स ?
म्यासेन्जर रुम्स एउटा यस्तो ठाउँ हो जहाँ सामुहिक भिडियो कुराकानी, बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकिने छ । म्यासेन्जर रुम्समा असिमित समयसम्म कुराकानी गर्न सकिने छ यसको लागि कुनै समयसिमा तोकिएको छैन ।
सामुहिक भिडियो कल गर्नको लागि फेसबुकमा ग्रुप बनाए जस्तै म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि इनभाइट गर्न सकिन्छ । फेसबुक प्रयोग नगर्नेहरूले पनि भिडियो कलमा सामेल हुन सक्नेछन् ।