प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकाे केन्द्रीय पदाधिकारीकाे बैठक आज अपरान्ह बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बाेलाइएकाे बैठकमा संविधानकाे दाेस्राे संशाेधन तथा कोरोना भाइरस सङ्क्रमणको अवस्थालगायत विषयमा छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको निशान छापभित्र अङ्कित नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि संविधान संशाेधन सम्बन्धि विधेयक संसदमा दर्ता गराएकाे छ।
प्रतिपक्षमा रहेका मधेष केन्द्रीत दलहरुले आफूहरुले उठाउँदै आएका मागहरुसमेत यसै संशाेधनसँगै सम्बाेधन गर्न सकिने भन्दै कांग्रेस नेतृत्वसँग छलफल गरेका थिए । त्यसबारे पनि पदाधिकारीकाे आजकाे बैठकमा छलफल हुनेछ ।
यसका साथै बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने काँग्रेसले जनाएको छ ।