एजेन्सी - अमेरिकी ई-कमर्श कम्पनी अमेजनले भारतीय मार्केटमा फूड डेलीभरी सर्भिस सञ्चालनमा ल्याएकाे छ । कम्पनीले 'अमेजन फूड' नाम दिइएकाे याे सेवा दक्षिण भारतको बेंगलुरु शहरबाट शुरू गरेको हो ।
कम्पनीकाे याे सेवा हाल बेंगलुरु शहरकाे महादेवपुरा, मराथल्ली, व्हाइटफील्ड र बेल्लदुर क्षेत्रमा उपलब्ध रहेकाे छ । यसकाे लागि कम्पनीले एक सय भन्दा बढि रेस्टुरेन्टहरूसँग सहकार्य गरेकाे छ । अबकाे केहि हप्ता पछि भने कम्पनीले यो सेवा अन्य विभिन्न शहरहरूमा पनि उपलब्ध गराउने बताएकाे छ ।
कोरोना भाइरसकाे कारण देशव्यापी जारी लकडाउन खुल्ने अनिश्चिततासँगै फूड डेलिभरी सेवाको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले याे सेवा शुरु गरेकाे बताएकाे छ । यो सेवा शुरु भएसँगै अमेजनकाे हाल भारतमा रहेका दुई ठूला अनलाइन फूड डेलिभरी सर्भिस प्रोभाइडर स्विगी र जोमेटोसँग प्रतिस्पर्धा हुने भएकाे छ ।
कोरोना भाइरसबाट आफ्नाे कारोबार प्रभावि भएपछि जोमेटोले १३ प्रतिशत कर्मचारी हटाउने तयारि गरिरहेकाे बेला अमेजनले भने लाखाैँ कामदारहरूलाई रोजगारीकाे अवसर प्रदान गर्ने लक्ष्य लिएकाे छ ।
अमेजनले आफ्नो फूड डेलिभरी सेवा सञ्चालनमा ल्याउनका लागि पछिल्लाे केहि बर्ष देखि परीक्षण गर्दै आएकाे थियाे । कम्पनीले गत बर्ष नै आफ्नो फूड डेलिभरी सेवा सुरू गर्ने उद्देश्य राखेको थियो । तर विभिन्न कारणहरूले यो सम्भव हुन सकेको थिएन ।