काठमाडाैं– राष्ट्रिय सभाका सांसदको ‘लोगो’ नेपालको नयाँ नक्सा अनुसार परिवर्तन हुने भएको छ। आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो।
सांसदहरुले प्रयोग गर्ने लोगो (प्रतिक)मा नेपालको नक्सा र झण्डा रहेका छन्। संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताए।
त्यस्तै संघीय संसदका दुबै सदनमा प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। राष्ट्रिय सभा नियमावली २०७५ को नियम २२१ बमोजिम माननीय सदस्यको पोशाक र संघीय संसदको प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ।
यसैबीच राष्ट्रिय सभाको १२ गते सोमबारका लागि बोलाइएको बैठक १३ गतेको लागि सारिएको छ। मुस्लिम समुदायको पर्व इदमा सार्वजनिक बिदा भएका कारण बैठक सारिएको हो।