बारा– बारामा थप एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षिय सहायक प्रहरी निरीक्षकलाई कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएपछि उनलाई कलैयास्थित जिल्ला अस्पताल लगिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।यसअघि मुद्दा शाखामा कार्यरत एक सुरक्षाकर्मीलाई काेराेना संक्रमण देखिएको थियो। त्यसपछि उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा थप एकजनामा संक्रमण पुष्टि भएको हो।
योसँगै बारामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमध्ये २ जना शनिबार निको भइसकेका छन्। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ सय ९२ पुगेको छ। जसमा तीन जनाको मृत्यु भएको छ भने ८९ निको भएका छन्।