काठमाडाैं - काेराेना भाइरसकाे संक्रमण तिब्र गतिमा फैलिरहेका बेला काेराेनालाई पराजित गर्नेकाे संख्या पनि बढ्दै गएकाे छ । नेपालमा हालसम्म संक्रमित देखिएका ६ सय ३ मध्ये ८७ जनाले काेराेनालाई पराजित गरेका छन् ।
आज आइतबार एकैदिन १७ जना संक्रमित निकाे भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत १० जना संक्रमितको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए।
यसैगरी नारायणी अस्पताल वीरगञ्जबाट पनि थप ७ जना संक्रमित डिस्चार्ज भएको उनले जानकारी दिए। डिस्चार्ज भएर घर फर्किनेमा बारा, पर्सा र रौतहटका बासिन्दा छन्।
काेराेना भाइरस महामारीकाे त्रासकावीच काेरानालाई पराजित गर्नेहरुकाे संख्याले नयाँ आशा पनि सृजना गरेकाे छ ।
भाइरसकाे संक्रमण देखिएका मध्ये ५ सय १३ जनाकाे मुलुकका विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।