कपिलवस्तु– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना भाइरस संक्रमितलाई इदुल फित्रका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ। मुसलमानको मुख्य पर्व इद सोमबार मनाइने भएकाले कोरोना संक्रमित मुसलमान समुदायका व्यक्तिलाई अस्पतालले कपडा र खाद्य पदार्थ वितरण गरेको हो।
कपिलवस्तु र रुपन्देही जिल्लाका मुसलमान समुदायका १२ व्यक्तिलाई नयाँ कपडा, नमाज पढ्दा बिछयाइने मुसल्ला, इदमा खाइने सेवई वितरण गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्रप्रसाद खनालले जानकारी दिएका छन्। उनीहरुलाई बुटवलस्थित धागो कारखानामा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा सामग्री वितरण गरिएको डा खनालले बताएका छन्।
उक्त अस्पतालमा उपचारार्थ मुसलमानमध्ये शनिबार चार जना कोरोना जितेर घर फर्किएका छन्। साथै अस्पतालमा रहेका सबै संक्रमितलाई सेवई खाने व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ। कपिलवस्तुका १० संक्रमित निको भएर घर फर्किएका छन्।
दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ फिजिसियन डा सुुदर्शन थापाले जानकारी दिएका छन्। कपिलवस्तुमा शनिबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएसँंगै जिल्लामा कोरोना संक्रमित ८० पुगेका छन्।
साझेदारी वनले किट खरिद गर्दै
कपिलवस्तुका तीन साझेदारी वन व्यवस्थापन समितिले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पिसिआर किट खरीद गर्ने भएका छन्। साझेदारी वन समितिले किट खरीद गरेर गौतमबुद्ध डिभिजन वन कार्यालय क्षेत्रअन्तर्गतका किट आभाव भएका शिवराज, कृष्णनगर, महाराजगञ्ज र बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिकालाई किट प्रदान गर्ने भएका छन्।
कपिलवस्तु साझेदारी, शिवराज साझेदारी र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले रु १५ लाखको पिसिआर किट खरिद गर्ने निर्णय गरेको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत दुर्गाबहादुर कार्कीले जानकारी दिएका छन्।
जिल्लाका पालिकामा किट अभाव भएकाले किट खरीद गरी पाँच पालिकालाई हस्तान्तरण गरिने वन अधिकृत कार्कीले बताएका छन्। बैठकले कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितका अध्यक्ष गंगेशनाथ तिवारीको अध्यक्षतामा किट खरिद तथा वितरण समिति गठन गरी खरीद प्रक्रिया अगाडि बढाएको छ। रासस