राजापुर– बर्दियाका तीन नगरपालिकाको सहकार्यमा रेडियो स्कूल कक्षा कार्यक्रम आजदेखि सञ्चालनमा आएको छ। बर्दियामा रहेका रेडियोहरुको साझेदारीमा मधुवन, गुलरिया र बारबर्दिया नगरपालिकाले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीका लागि शिक्षण सिकाइमा सहयोग पुग्ने उद्देश्यका साथ रेडियो स्कूल कक्षा कार्यक्रम सञ्चालन गरेका हुन् ।
सो कार्यक्रम बर्दियाको गुलरियामा रहेको रेडियो बबई एफएम १०६ मेगाहर्ज, भुरीगाउँमा रहेको रेडियो टाइगर एफएम ९९.२ मेगाहर्ज र मधुवनमा रहेको रेडियो रामज्ञानु एफएम ८९ मेगाहर्जबाट नियमित प्रसारणको व्यवस्था मिलाइएको छ। कोभिड १९ संक्रमण महामारी हुन सक्ने भन्दै जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द भएका छन्। यस्तो अवस्थामा विद्यार्थीले स्वास्थ्य सुरक्षाका साथ आफ्ना शिक्षण गतिविधिलाई निरन्तरता दिन पाउने हुनाले रेडियो स्कूल कक्षा कार्यक्रम सञ्चालन गरिएको मधुवन नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताएका छन्।
कोरोना भाइरसको त्रासका कारण बन्दाबन्दीमा रहेका बालबालिकामा शैक्षिक तथा मानसिक रुपमा समस्या नआओस् भनेर बर्दियाका रेडियोहरुको साझेदारीमा नगरपालिकाहरुले कार्यक्रम सञ्चालनमा ल्याएको बारबर्दियाका नगर प्रमुख दुर्गाबहादुर थारुले बताएका छन्। बर्दियामा इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीलाई लक्ष्य गर्दै सो कार्यक्रम ल्याइएको भन्दै नगर प्रमुख थारुले कक्षा १, २ र ३ का विद्यार्थीका लागि विशेष रमाइलो कक्षा पनि सञ्चालन गरिएको बताएका छन्। रासस