मेलम्ची– सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ। आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किन गई स्याङ्बोको घटनास्थलमै मृत्यु भएको हो। उनको पेटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन्।
चोरीको स्कुटीसहित दुई पक्राउ
काठमाडौँबाट हराएको स्कुटी मेलम्चीमा भेटिएको छ। काठमाडौँ महानगरपालिका–५ गौचरनबाट हराएको स्कुटी आइतबार प्रहरीले चेकजाँच गर्ने क्रममा मेलम्चीमा भेटिएको हो। प्रदेश ३–०२–००१प १९२७नं को स्कुटीलाई मेलम्चीमा प्रहरीले रोकी जाँच गर्दा उक्त स्कुटी चोरीको भएको थाहा भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन्।
चोरीको भनी शङ्का लागेर ट्राफिक महाशाखा रामशाहपथमा बुझ्दा उक्त स्कुटी मिति २०७६ माघ १६ मा काठमाडौँ गौचरनमा रहेको ग्यास र पानी आपूर्ति पसल अगाडिबाट हराएको तामाङले जानकारी दिएका छन्। स्कुटी काठमाडौँ–३० बस्ने प्रभात थापाको भएको बुझिएको छ।
स्कुटी चलाएर हिँड्ने मेलम्चीका २३ वर्षीय अच्युत श्रेष्ठ र विकास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निजहरुलाई महानगरीय प्रहरी वृत्त मालीगाउँ काठमाडौँमा आवश्यक कारवाहीका लागि पठाउने तयारी गरिएको छ। रासस