कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गरेको छ। मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इदउल फित्रको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित रहन सजग गराएका छन्।
शुभकामना सन्देशमा भनिएको छ, ‘बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु।’ उनले इदले सबैमा भ्रातृत्व, शान्ति र सामाजिक सहिष्णुताका लागि थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
सङ्क्रमितको सङ्ख्या ११ पुग्यो
एक साताअघिसम्म ‘ग्रिन जोन’मा रहेको कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ। दैलेखका आठ र सुर्खेतका तीन गरी ११ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। अघिल्लो सोमबार पश्चिम दैलेखको आठबीस नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
पछिल्लोपटक कोरोना सङ्क्रमण पुष्टि हुने सबै दैलेखका हुन्। मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार भेरी अस्पताल नेपालगञ्जमा अन्तिम परीक्षण गरिएका दैलेखको नारायण नगरपालिकाका १५ का १८ वर्षीय किशोर, डुङ्गेश्वर गाउँपालिकाका १९ का २७ वर्षीय पुरुष र २५ वर्षीया महिला तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको अन्तिम परीक्षणमा गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।
यसअघि शनिबार सुर्खेतको बराहताल गाउँपालिकाका दुई तथा चौकुने गाउँपालिकाका एकजनामा सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमितमध्ये चारजना प्रदेश अस्पताल सुर्खेतमा र बाँकीको दैलेख अस्पतालअन्तर्गत सरस्वती माविमा सञ्चालित आइसोलेशन कक्षमा उपचार भइरहेको छ। भारत सरकारले रेल सेवा सञ्चालनमा ल्याएसँगै दैनिक सयौँको सङ्ख्यामा कर्णालीवासी घर फर्किरहेका छन्। जसले गर्दा उनीहरुसँगै कोरोना सङ्क्रमण भित्रिने खतरा बढेको छ। कर्णालीमा पहिचान भएका सङ्क्रमित सबै भारतबाट आएका हुन्। (रासस)