विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गरेका छन्। इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इदउल फित्रको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस वर्ष विश्वभर फैलिएको कोभिड–१९ का कारण यी चाडपर्व खुला र भव्यरुपमा आयोजना गरी मनाउन सम्भव नभएकाले सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गरेका हुन्।
उनले विभिन्न धर्म, संस्कृति, वेषभूषा, रहनसहन र पहिचानको विविधिताले सम्पन्न हाम्रो मुलुकमा हरेक जातजाति र धर्मका आआफ्नै मौलिक संस्कृति र पहिचान रहेको बताउँदै उनले सन्देशमा भने, ‘धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने ईदउल फित्र जस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै ऐतिहासिक एवं मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
मुख्यमन्त्री राईले नेपाललगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीले मनाउने इदउल फित्र चाडको पनि आफ्नो छुट्टै पहिचान, मौलिकता र विशिष्टता रहेको छ उल्लेख गर्दै हाम्रो मुलुकमा मनाइने यी र यस्ता चाडपर्वका माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दीगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो सन्देशमा भनेका छन्।
उनले सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोउत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। उनले ईदउल फित्र पर्वले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भ्रातृत्व, सद्भाव, सहिष्णुता र एकता कायम गर्दै समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड–१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्। रासस