नेपालमा सोमबार ७९ जनामा कोरोना संक्रमण देखिएको छ। योसंगै संक्रमितको संख्या ६ सय ८२ पुगेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द भएका होटल र खाली सार्वजनिक संरचनाहरुलाई क्वारेन्टिन बनाइने बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपलब्ध संरचनाहरुलाई प्रयोग गर्दै क्वारेन्टिनको संख्या विस्तार गरिने बताए । प्रधानमन्त्री ओलीले स्थानिय तहलाई कोरोनासँग लड्न सक्ने गरी सक्षम बनाइने उल्लेख गर्दै स्वास्थ्य सेवा र राहत वितरणमा पनि स्थानीय तहलाई सबल बनाइने बताए। प्रधानमन्त्री ओलीले लकडाउनका कारण प्रभावित भएकाे अर्थतन्त्रलाई बचाउन लकडाउन खुकुलाे बनाउने संकेत गर्दै याेजना बनाएर अघि बढ्ने बताए ।
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा चौथो व्यक्तीको मृत्यु भएको छ। वीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका बारा कलैयाका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। गत जेठ ४ गते मृत्यु भएका उनको ८ दिनपछिमात्र कोरोना संक्रमण पुष्टि भएको हो। उनी जेठ २ गते अस्पताल भर्ना भएका थिए।
स्वास्थ्य क्षेत्रका अभियन्ता डा। गोविन्द केसी फेरि अनसन बस्ने भएका छन्। उनले जेठ २० देखि दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन्। दार्चुलामा रहेका उनले सोमबार विज्ञप्ति जारी गर्दै दुर्गम जिल्लाका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन्।
राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारलाई सिफारिस गरेको छ। आयोगले केन्द्रलाई २२ बुँदे, प्रदेशलाई ६ बुँदे तथा स्थानीय सरकारलाई सात बुँदे सिफारिस गरेको हो। आयोगले समाधान हुन बाँकी रहेका सीमा विवादको स्थायी समाधान गर्दै नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दुसमेत कायम गरी ती क्षेत्रमा बसोबास गर्ने नागरिकको मर्या्दित जीवन जिउन पाउने अधिकारको सुनिश्चित गर्न सार्थक र प्रभावकारी कूटनीतिक पहल अगाडि बढाउन सरकारलाई सिफारिस गरेको छ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी एक महिला नक्कली गर्भवती बनेर इटहरीबाट गाउँ आएको केही समय नबित्दै शनिबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा्चिउरीडाँडाका पाँच स्थानीय बासिन्दा आफन्तको मृत्यु भएको कागजात बनाएर तरहराबाट गाउँ आएको खुलेको हो।
प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ। विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएकोे बैठक विशेष कारणवश बस्न नसकिने भएकाले प्रदेशसभा नियमावली २०७४ बमोजिम सभामुखले अर्को बैठक यही जेठ १३ गते अपराह्न १ बजे बस्ने गरी निर्धारण गर्नुभएको जानकारी गराएको छ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाइएको छ।
पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ। सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो। लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न बस्नेत एक स्थानीयको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए।