ललितपुर– ललितपुर महानगरपालिका–२४ धापाखेलमा मानव सेवा आश्रमको भवन शिलान्यास गरिएको छ। कोरोना भाइरसका कारण आउँदा दिनमा सडकमा आउने मानिसको सङ्ख्या वृद्धि हुने अनुमानसहित उक्त भवन शिलान्यास गरिएको हो। ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभाका सदस्य पम्फा भुसाल र महानगरपालिकाका उपप्रमुख गीता सत्यालले सोमबार संयुक्तरूपमा भवनको शिलान्यास गरेकी छिन्।
यस चालू आर्थिक वर्षमा सांसद विकास कोषबाट आश्रम निर्माणका लागि रु १० लाख विनियोजन भएको भुषालले बताएका छन्। उपप्रमुख सत्यालले आश्रम निर्माणमा महानगरपालिकाले साथ र समर्थन दिने प्रतिबद्धता व्यक्त गरेकी छिन्। सेवा आश्रम ललितपुरका केन्द्रीय उपाध्यक्ष धर्मप्रसाद पौडेलले आश्रमको भवन आधुनिक, सुविधासम्पन्न, छकोठे र दुई तलाको निर्माण हुने जानकारी दिएका छन्। उनले भने, ‘फलामको पिलरमाथि चार भित्तामा सिमेन्ट बोर्ड प्रयोग गरी एक हजार ८०० स्कवायर फिट क्षेत्रफलमा भवन निर्माण गर्न लागेका छौँ। यो भवन भूकम्प प्रतिरोधात्मक क्षमताको हुनेछ।
ललितुरमा देखिने अनाथ, बेसहारा, परिचयविहीन, मनोरोगीलाई ध्यानमा राखी आश्रमको भवन निर्माण गर्न लागेका हौँ।’ आश्रम निर्माणमा रु ५० लाख खर्च हुने अनुमान गरिएको पौडेलले जानकारी दिएका छन्। केही वर्षअघिदेखि महानगरपालिका–२३ हात्तीवनमा आश्रमको शाखा रहेको हुँदा अब बन्ने भवन भने उपशाखाका रूपमा प्रयोग हुनेछ। ‘नेपालको १४ जिल्लाभर १८ स्थानमा आश्रम खोलिएका छन्।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा ३७०–८० मानिसले आश्रमबाट सेवा लिइरहेका छन्’, पौडेलले थपे, हात्तीवन आश्रममा नौ जनाका टोली २४ घण्टा खटिने गरेको पौडेलको भनाइ छ। आश्रम निर्माणका लागि भुसालले जस्तै झम्सिखेल निवासी कमला शर्माले व्यक्तिगततर्फबाट रु १० लाख, गत वर्ष मानभवन निवासी सुरेन्द्रगोविन्द जोशीले रु एक लाख, मकैकुमारी विष्टले रु २५ हजार पाँच र एकान्तकुना निवासी सरला ढकालले रु ५५ हजार ५५५ सहयोग गरेका छन्। आश्रम निर्माणका लागि सरकारी जग्गा भोगाधिकारका रूपमा उपलब्ध गराइएको हो। रासस