चितवन– स्थानीय तहमा बाहिरबाट आएका मानिस बस्न बनाइएका कतिपय क्वारेन्टिन झारा टार्ने खालका मात्र भएका छन्। स्थानीय स्कूल भवन देखाएर मात्रै क्वारेन्टिन भन्ने गरेको पाइएको छ। जिल्लाका स्थानीय तहहरुमा एक वडा एक क्वारेन्टिन बनाउने निर्णय भएको छ। सात स्थानीय तहमा ९८ वडा छन्। माडी नगरपालिकाले वडा सङ्ख्याभन्दा दुई बढी क्वारेन्टिन बनाएको भए पनि कतिपयले एउटा वडामा एउटा क्वारेन्टिन बनाउन सकेका छैनन्।
भरतपुर महानगरपालिका–२८ का वडाध्यक्ष आसबहादुर कुमालले स्थानीय सरस्वती माविलाई क्वारेन्टिन बनाएको बतार्एका छन्। आफ्नै घरबाट गुन्द्री, कम्मल, झुल, तन्ना ल्याउन भनिएको उनको भनाइ छ। खाना पनि घरबाटै ल्याउन लगाइएको छ। क्वारेन्टिनमा हाल आठ जना छन्। दुई बाटोमा आउँदै गरेको र चार सुनौलमा आइसकेको उनले जानकारी दिएका छन्र। स्कूलका बेञ्च जोडेर सुत्न उनीहरु बाध्य छन्। जिल्लाका कतिपय वडाहरुको अवस्था पनि यस्तै रहेको पाइएको छ।
भरतपुर महानगरपालिका–११ को क्वारेन्टिन भने व्यवस्थित गरिएको छ। वडाध्यक्ष बाबुराम अधिकारीका अनुसार कमलामाई मन्दिरमा १६ श्ययाको क्वारेन्टिन तयार गरिएको छ। मेडिकल कलेजको श्यया, स्थानीयवासीको सहयोगमा खाट, पङ्खाजस्ता सामग्री मागेर क्वारेन्टिन व्यवस्थित गरेको उनले बताएका छन्। मङ्गलबारबाटै क्वारेन्टिनमा खाना खुवाइने उनको भनाइ छ। क्वारेन्टिनको मापदण्डअनुसार शङ्कास्पद व्यक्तिलाई क्वारेन्टिनमा १४ दिनदेखि १७ दिनसम्म राख्नपर्ने हुन्छ। क्वारेन्टिनमा कोठाको व्यवस्थापन गर्दा प्रतिव्यक्ति ७५ वर्ग्फिटको स्थान वा एउटा खाटदेखि अर्को खाटसम्मको न्यूनतम दूरी तीनदेखि पाँच फिट हुनपर्ने तोकिएको छ।
सरकारले तोकेको मापदण्डअनुसार क्वारेन्टिनमा बस्ने व्यक्तिले अरुलाई हीनतावोध गर्ने खालको कुनै पनि काम गर्न नपाउने, क्वारेन्टिनमा सूर्तिजन्य एवं मादक पदार्थको सेवन गर्न नपाउने, क्वारेन्टिनबाट कोही पनि व्यक्ति भाग्ने वा भाग्न कोसिस गरेको थाहा भएमा त्यसको जानकारी दिनेजस्ता विषय उल्लेख गरिएको छ।
क्वारेन्टिनमा बस्ने व्यक्तिलाई खोक्दा या हाछ्युँ गर्दा अनिवार्यरूपमा मुख छोप्नपर्ने, मासु एवं अण्डा राम्रोसँग पाकेको यकिन गरेर मात्रै खानपर्ने, कुनै पनि पक्षीहरुको सम्पर्कमा जान नहुने नियम तोकिएको छ। सो मापदण्डअनुसारको क्वारेन्टिनमा दिनमा चारपटक खाना खान पाइन्छ। जसअनुसार बिहान साढे ७ बजे चिया, दिउँसो साढे ११ बजे दिवाखाना, अपराह्न साढे २ बजे खाजा र साँझ साँढे ७ बजे रात्रि खानाको व्यवस्था गरिएको छ।
भरतपुर महानगरपालिकाका २९ वडामध्ये कतिपयले क्वारेन्टिन व्यवस्थित गरेका छन् भने कतिपयले बेञ्च जोडेर काम चलाउने गर्दै आएका छन्। यो समस्या अरु स्थानीय तहमा पनि छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले सबै वडालाई व्यवस्थित क्वारेन्टिन बनाउन भनिएको बताएका छन्। कपडा पठाइएको र जुटाउन नसक्नेलाई खाट, लोबेडजस्ता सामग्री महानगरपालिकाले नै उपलब्ध गराउने उनको भनाइ छ। दुई वडामा खाट किनेको उनले बताएका छन्। हाल महानगरमा सातदेखि २६ सम्मका २९५ जना क्षमताको क्वारेन्टिन रहेको उनको भनाइ छ। महानगरले क्वारेन्टिनमा बस्नेलाई रु चार हजार बराबरको खानाका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिएका छन्।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले क्वारेन्टिनमा बस्नेहरु सङ्क्रमित पनि हुनसक्ने भएकाले मापदण्डअनुसार आरामदायी क्वारेन्टिन बनाउनपर्ने बताएका छन्। क्वारेन्टिनमै बसेर सङ्क्रमण निको भएर फर्कनुपर्ने अवस्था आउन सक्ने भएकाले मानवीय न्यूनतम सुविधा हुने गरी क्वारेन्टिन बनाउनपर्ने उनको भनाइ छ। जिल्लका क्वारेन्टिनमा गुणस्तर सुधार आवश्यक रहेको भट्टराईले बताएका छन्।
आज जिल्लाका २९ क्वारेन्टिनमा २६२ जना रहेको भन्दै उनले सबै वडामा क्वारेन्टिन बनाउन भनिएको जानकारी दिएका छन्। कतिपय ठाउँमा समुदायको अवरोध भएकाले क्वारेन्टिन बनाउन समस्या भएको छ। स्थानीय तहमै त्यसको व्यवस्थापन गर्दै न्यूनतम मापदण्ड पूरा हुने गरी क्वारेन्टिन बनाउनपर्ने उनको भनाइ छ।
भरतपुर अस्पतालमा मृत्यु भएका पुरुषको पिसीआर नेगेटिभ
भरतपुर अस्पतालको सघन उपचारकक्षमा मृत्यु भएका पुरुषको पिसीआर नतिजा नेगेटिभ आएको छ। रामग्राम नगरपालिका–८ नवलपरासी निवासी ४८ वर्षीय पुरुषको मृत्युपछि सोमबार गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिएका छन्।
पौडेलका अनुसार निमोनियाको सङ्क्रमणका कारण उनी आइतबार राति १२ बजे भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए। उनको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको थियो। मृत्यु भएका ती पुरुषको स्वाब सङ्कलन गरी भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षण गरिएको थियो। छाती पोल्ने, स्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालबाट यहाँ पठाइएको हो। रासस