बन्दाबन्दीले उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा हिउँदमा पनि स्वच्छ पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा निर्माण शुरु गरिएको बाँधको काम प्रभावित भएको छ। धाप बाँधको भौतिक प्रगति ७६ प्रतिशत सम्पन्न भए पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैतदेखि नै काम बन्द भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।
बाँधमा काम गर्ने भारतीय मिस्त्री बन्दाबन्दीमा घर गएपछि नफर्किएका कारण काम हुन नसकेको समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले राससलाई जानकारी दिएका छन्। नेपाली मिस्त्रीले गर्न नसक्ने प्राविधिक काम भएकाले बन्दाबन्दीमा घर गएका कामदारका कारण प्रभावित भएको हो। धापमा बाँधको काम असार दोस्रो सातासम्म मात्र गर्न सकिन्छ ।
असार दोस्रो सातापछि वर्षात्का कारण काम गर्न सकिँदैन। कात्तिकपछि मात्र फेरि धाप बाँधको काम गर्न सकिन्छ। आयोजनाको हालसम्म ७० प्रतिशत वित्तीय प्रगति भएको छ। एशियाली विकास बैंकको करिब रु ५१ करोड ऋण सहयोगमा निर्माण भइरहेको बाँध गत वैशाखमै सक्ने लक्ष्य भए पनि बन्दाबन्दीका कारण अलपत्र बनेको हो। चौबीस मिटर उचाइको बाँधमा वर्षात्मा परेको पानी जम्मा गर्ने योजना छ।
गत वैशाखमै निर्माण सम्पन्न गरी आगामी वर्षात्मै बाँधमा पानी सङ्कलन शुरु गरी परीक्षण गर्ने योजना प्रभावित भएको छ। योजना प्रभावित हुँदा बाँधमा वर्षात्को पानी जम्मा गर्न एक वर्ष कुनुपर्ने भएको अधिकारसम्पन्न वाग्मती समिति सञ्चालक सदस्य राम साहले बताएका छन्। गोकर्णेश्वर नगरपालिका–१ स्थित धापमा बनिरहेको बाँधमा आकाशेपानी जम्मा गरी प्रतिसेकेण्ड ४० लिटर पानी वाग्मतीमा बगाइने योजना छ।
बाँधमा आठ लाख ५० हजार क्युविक लिटर पानी अटाउँछ। बाँध भरिन चार वर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। बाँध निर्माण सिँचाइ विभागको ठेक्कामा गुञ्जाउ–लामा–रमण जेभीले गरिरहेको छ। निर्माण कम्पनीका इञ्जीनियर रुपेशकुमार साह निकुञ्जभित्र गर्नुपर्ने काम भएकाले शुरुमा केही ढिलाइ भएको र अहिले फेरि बन्दाबन्दीले काम रोकिएको बताउछन्।
धाप बाँध पर्यटन प्रवद्र्धनमा सहयोगी
बाँध निर्माणपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने सुन्दरीजलका स्थानीय पर्यटन व्यवसायी नारायण श्रेष्ठले बताएका छन्। निकुञ्जभित्र वरिपरि हरियाली डाँडाकाँडा एवं पारिपट्टि हिमालको रमणीय दृश्य देखिने भएकाले पर्यटकलाई यस स्थलले आकर्षित गर्ने गरेको छ।
पर्यटकीय क्षेत्रका रूपमा स्थापित सुन्दरीजल–चिसापानी क्षेत्रलाई चिनाउन बाँधले पनि योगदान गर्ने यहाँका पर्यटन व्यवसायीको विश्वास छ। बाँधबाट चिसापानी तीन किमीको दूरीमा छ। सुन्दरीजलबाट निकुञ्जभित्रको १८ किमी यात्रा गरेपछि बाँध स्थल पुग्न सकिन्छ। हाल बाँध नजिकैबाट काठमाडौँ, सिन्धुपाल्चोक र नुवाकोटको सङ्गमस्थलमा रहेको पर्यटकीयस्थल चिसापानी जाने सडक छ। यो सडकबाट दैनिक सयौँ पर्यटक हेलम्बु, गोसाइँकुण्ड, मेलम्चीलगायत स्थानमा जान्छन्।
यो मार्गबाट पर्यटक पैदल एवं सवारी दुवै माध्यमबाट जाने गरेका छन्। यो बाटोबाट लाङटाङ राष्ट्रिय निकुञ्जमा पदमार्गका रूपमा जाने बाह्य पर्यटकसमेत हिँड्ने बाटो छ। यसैगरी चिसापानी–झुले–नगरकोट पदमार्गसमेत यही बाटो जान्छ। यो मार्ग हिँड्ने विदेशी एवं स्वदेशी पर्यटकले हाल निर्माण भइरहेको बाँधस्थलममा सेल्फी खिचाउने गरेका छन्। हाल मानवनिर्मित बाँध हेर्न कुलेखानीमा पर्यटकको भीड लाग्ने गरेको छ। धापको बाँध निर्माण सम्पन्न भएपछि रत्नपार्कबाट करिब ३३ किमी दूरी पार गरी धाप पुग्न सकिन्छ।
वाग्मतीको पानी स्वच्छ बनाउन बाँध
वर्षात्मा पानीको बहावले वाग्मती कम फोहर देखिने गरेको छ। हिउँदमा भने पानीको बहाव घट्ने गरेकाले नदी किनार दुर्गन्धित हुन्छ। वाग्मतीलाई स्वच्छ बनाउने उद्देश्यले गुह्येश्वरीमा निर्माण भइरहेको ढल प्रशोधन केन्द्र निर्माण पनि अन्तिम चरणमा पुगेको छ। निर्माण सकी हाल ढल प्रशोधनको परीक्षण भइरहेको छ। अत्याधुनिक यन्त्रबाट यहाँ ढल प्रशोधन गरी वाग्मतीमा पठाइने छ।
यो केन्द्रबाट दैनिक तीन करोड २४ लाख लिटर ढल पानी प्रशोधन गरी स्वच्छ बनाइने छ। निकुञ्जभित्रको धाप बाँधको एक किलोमिटरमुनि अर्को ९० मिटर उचाइको बाँध बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन भइरहेको छ। दुवै बाँधको पानी निकुञ्जको नागमती हुँदै सुन्दरीजलस्थित सुन्दरीमाईको मन्दिर नजिकै वाग्मतीमा मिसाइने छ। (रासस)