काठमाडाैं - नेपालमा मंगलबार थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। याे सँगै संक्रमितकाे संख्या ७ सय ७२ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
टेकु प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीका दुई जना, जुम्ला घर भई बारामा काम गरिरहेका २ जना र बाराकै थप तीन जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै रौतहटका २२ जनाम संक्रमण पुष्टि भएको छ। सिराहा जिल्लाका ५ जनामा समेत संक्रमण पुष्टि भएको छ । टेकुमै गरिएको परीक्षण अनुसार धनुषाका एक जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीको प्रयोगशालामा भएको परीक्षणका क्रममा सात जनालाई संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये कपिलवस्तु, गुल्मी, अर्घाखाँचीका २/२ जना र रुपन्देहीका एक जना रहेका छन् ।
सेती अस्पतालमा गरिएको परीक्षणका क्रममा कैलाली र अछामका एक/एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरामा भएको परीक्षणका क्रममा स्याङजा वालिङका दुई जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुर्खेत प्रयोगशालामा भएको परीक्षणका क्रममा सुर्खेतकै १२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै दाङमा भएको परीक्षणका क्रममा कपिलवस्तुका दुई वर्षिया बालिकासहित २४ जनालाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज ४३ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु आज नारायणी अस्पतालबाट डिस्चार्ज भई घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । डिस्चार्ज हुनेमा २ महिला र ४१ पुरुष रहेका छन् । योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १५५ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।