बिराटनगर - प्रदेश नं १ को बजेट अधिवेशन बुधबारदेखि शुरु हुने भएको छ । अपराह्न २ बजेदेखि प्रारम्भ हुने अधिवेशनलाई व्यवस्थित बनाउन प्रदेशसभा सदस्यलाई दुई ठाउँमा बस्ने व्यवस्था मिलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
जिल्ला समन्वय समितिको कार्यालयमा सञ्चालन भइरहेको प्रदेशसभाको अधिवेशन विगतमा तल्लो तलाको सभामा सञ्चालन भइरहेको थियो । कोरोना भाइरसका कारण र सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले सोही भवनको माथिल्लो तलामा पनि सदस्यलाई बस्ने व्यवस्था मिलाइएको छ ।
अधिवेशन सञ्चालन हुनुअगाडि नै सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, कर्मचारी र सञ्चारकर्मीको स्वाब सङ्कलन भइसकेको सचिव पराजुलीले जानकारी दिए । रासस