१. एकैदिन थपिए ९० जना काेराेना संक्रमित, संक्रमितकाे संख्या ७ सय ७२ पुग्यो
नेपालमा मंगलबार थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। याे सँगै संक्रमितकाे संख्या ७ सय ७२ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
२. संविधान संशोधनका लागि निशर्त सहमतीमा आउन प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निसान छाप परिवर्तन सम्बन्धि संविधान संशोधनका लागि निशर्त सहमतिमा आउन सबै दलहरुलाई आग्रह गरेका छन् । मधेष केन्द्रित दलहरुले आफूहरुका माग समेत समेटेर संविधान संशोधन गर्नुपर्ने आवाज उठाएपछि प्रधानमन्त्रीले निशान छाप परिवर्तनको यो प्रस्तावमा बीनाशर्त सहमतीमा आउन आग्रह गरेका हुन् ।
३. रुकुमको जातीय हिंसा प्रकरणः ५ सदस्यीय छानविन समिति गठन
सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन प्रस्तुत गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।
४. कोरोनाको प्रभाव न्यून गर्न एसियाली विकास बैंकको ३० अर्ब सहुलियत ऋण
एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै रु ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ।
५. नेपालका निजी क्षेत्रलाई सघाउने विश्व बैंकअन्तर्गत आइएफसीकाे आश्वासन
विश्व बैंकअन्तर्गतको आइएफसीले कोभिडबाट सिथिल नेपाली निजी क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजना गरिएको वेविनारमा बोल्दै आइएफसीका नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर वेण्डी वर्नरले सो कुरा बताएका हुन।
६. इन्टरनेटको कुरा छोडौं, हेलो भन्न त पाउनु पर्यो नि’
नेपालको दूरसञ्चार सेवाको विकास, विस्तार र गुणस्तर दक्षिण एशियामै गौरव गर्न लायक भनिरहँदा संसदीय समितिले गुणस्तर र सेवा विस्तारको धिमा गतिप्रति गम्भीर प्रश्न उठाएको छ ।नेपाल-दूरसञ्चार-प्राधिकरणबाट ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाको कार्यप्रगति सुनेपछि सांसद यज्ञ सुनुवारले ‘रातको समयमा समीको बोटमुनि बसेर पूर्व फर्केर डायल गरेपछि काठमाडौंमा ट्वाक्कै फोन लाग्यो’ भनेपछि समितिको बैठकमा हाँसो गुञ्जियो ।
७. पाँच वर्षमा २५ लाख विदेशी पर्यटक भित्र्याइने लक्ष्य
सरकारले आगामी पाँच वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा युवराज खतिवटाले आज संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०७६÷७७ मा सन् २०२५ सम्म २५ लाख विदेशी पर्यटक भित्र्याएर आठ लाख ९८ हजार रोजगारीको सिर्जना गर्ने लक्ष्य लिएको हो ।
८. संशोधनविना एमसिसी पास नगर्न साझाको माग
साझा पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी) सम्झौता संशोधनविना संसद्बाट पास नगर्न सरकारको ध्यानाकर्षण गरेको छ ।साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आज विज्ञप्ति जारी गरी सम्झौताका कतिपय बुँदा नेपालको राष्ट्रिय स्वाभिमान र हित विपरीत रहेको जनाउँदै संशोधनविना संसदबाट पास गर्नु उपयुक्त नहुने बताएका छन् ।
९. प्रदेश नं १ को बजेट अधिवेशन बुधबारदेखि
प्रदेश नं १ को बजेट अधिवेशन बुधबारदेखि शुरु हुने भएको छ । अपराह्न २ बजेदेखि प्रारम्भ हुने अधिवेशनलाई व्यवस्थित बनाउन प्रदेशसभा सदस्यलाई दुई ठाउँमा बस्ने व्यवस्था मिलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
१०. रुकुम हत्याकाण्डमा कानून हातमा लिनेलाई कारवाही गरियोस्: काँग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रुकुम पश्चिममा भएको नृशंस हत्याकाण्डले देशलाई नै स्तब्ध बनाएको भन्दै घटनाको निष्पक्ष र गहन छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ तर नयाँ संविधानपछिको नेपालमा अझै पनि यस्ता घटना हुनु दुःखद भएको उल्लेख गर्दै काँग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको जनाएको छ ।
११. जापानको फुकुओका उड्दै नेपाल एयरलाइन्स
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ ।
१२. राष्ट्रिय युवा परिषद्मा पुनः ढुङ्गेल
राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त भएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो। यसअघि उनी विसं २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए।
१३. नवराजका बुवा भन्छन् ‘बुहारी लिन जाँदा यो अवस्था भयो’
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे ।
१४. क्वारेन्टिनमा बसेकी महिलाको मुत्यु
प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए।
१५. कोरोना कहर : मनोवैज्ञानिक त्रासमा छन् अमेरिकामा नेपाली
कोरोना भाइरसको महामारीले आक्रान्त अमेरिकामा बस्दै आएका नेपाली भाषीहरुमा मनोवैज्ञानिक असर देखिन थालेको छ । कोभिड–१९ को प्रकोपले यहाँ मानिसको मृत्यु बढेसँगै जनजीवन सामान्य हुन नसक्दा नेपालीमा आफ्नो काम र व्यवसायको भविष्यका कारण चिन्ता बढेको हो ।