विश्व बैंकअन्तर्गतको आइएफसीले कोभिडबाट सिथिल नेपाली निजी क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजना गरिएको वेविनारमा बोल्दै आइएफसीका नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर वेण्डी वर्नरले सो कुरा बताएका हुन।
कोभिड–१९ को कठिन परिस्थितिमा नेपालका निजी क्षेत्रको भूमिका र आइएफसीका आगामी कार्यक्रम शीर्षकमा बोल्दै उनले यस्तो अवस्थामा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। कोभिडको शुरुवातबाट नै नेपालका पर्यटनलगायत सेवा क्षेत्र धराशायी भएको बताउँदै उनले यसको असर भविष्यमा पनि केही समय रहिरहने उल्लेख गरे।
नेपालमा निजी क्षेत्रको इक्विटी लगानीकर्ताका रुपमा मात्र नभइ आइएफसीले बृहत्तर रुपमा सहयोगीको भूमिका खेल्ने वर्नरले बताए। आइएफसीले विश्वव्यापी रुपमा कोभिडबाट आर्थिक क्षतिसँग जुध्न कुल ४८ मिलियन अमेरिकी डलरको प्याकेज अघि सारेको छ।
यसबाट तीन सय सङ्घ संस्थालाई प्रत्यक्ष रुपमा सहयोग उपलब्ध गराइरहेको छ। नेपालमा निजी क्षेत्रबाट सञ्चालित बैंक र लघुवित्त कम्पनीलाई आइएफसीले सहयोग गर्दै आइरहेको छ। यस वर्ष साना तथा मध्यम व्यवसायलाई पनि सहयोग उपलब्ध गराइने वर्नरले उल्लेख गरे।
कोभिडबाट थलिएको अर्थतन्त्रमा यस्ता व्यवसायले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। यस वर्षको अन्तिमसम्म आइएफसीको नेपालमा ०.५ अर्ब अमेरिकी डलरको लगानी पुग्ने बताइएको छ। सन् २०२३ सम्ममा आइएफसीले नेपालका निजी क्षेत्रमा १.२ अर्ब लगानीको लक्ष्य राखेको छ।