काठमाडौं- नेपालमा चैत दोस्रो सातादेखि सुरु भएको लकडाउन अहिलेसम्म जारी छ । यसबाट आर्थिक क्षेत्रमा पुग्ने असर अकल्पनिय हुने अनुमान शुरु भइसकेको छ भने अन्तर्राष्ट्रिय व्यापार पनि निकै घटेको छ ।
सरकारले अत्यावश्यक वस्तुलाई प्राथमिकतामा राखेर आयात खुला राखेको छ । यस्ताेमा मोबाइल फोनको आयात पनि रोकिएकाे देखिएन । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि बैशाखसम्म ३९ लाख ५१ हजार थान बराबरको मोबाइल आयात भएकाे छ । जसमध्ये एक लाख ४ हजार ३ सय थान मोबाइल बैशाख महिनामा मात्रै आयात भएकाे हाे।
सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट १४ अर्ब ६८ करोड रुपियाँ बाहिरिएको विभागले जनाएकाे छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा नै विभिन्न देशबाट २५ लाख मोबाइल सेट भित्रिसकेको थियाे ।
नेपाली बजारमा विश्वका विभिन्न देशबाट विभिन्न कम्पनीका मोबाइल फोनहरु भित्रिने गरेको छ । ती मध्ये अधिकांश मोबाइल फोनहरु भारत र चीनबाट आयात हुने गर्दछ ।