१.नेपालमा थप ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ सय ८६ पुग्यो
नेपालमा अाज थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ। नेपालमा एकैपटक यतिधेरै संख्यामा कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न जिल्लामा गरी १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।
२.बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने
आगामी आर्थिक वर्ष २०७७÷७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
३.पर्साका गौरीशङ्कर यादव भन्छन्– ‘‘अस्पताल आएर झन् दुःख पाइयो।’’
यहाँ रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवाको अवस्था दयानीय बन्दै गएको छ। अस्पतालको कुरुवाघर भरिएको र स्थानीयस्तरमा रहेका होटल बन्द भएपछि खुला आकाशमा रात बिताउनुपर्ने बाध्यता उनीहरुको छ। अस्पतालको तथ्याङ्कअनुसार अस्पतालभन्दा बाहिर रहेका बिरामीको सङ्ख्या १०० हाराहारी छ।
४.रुकुम पश्चिम घटनामा २० जनाविरुद्ध जाहेरी, १२ पक्राउ
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी गरेका छन् । अन्तरजातीय सम्बन्धलाई लिएर जेठ १० गते भएको घटनाका पीडित परिवारले किटानी जाहेरी गरेका हुन् ।
५.'सांसद विकास कोष' वित्तीय अपराध हो : साझा पार्टी
संघीय तथा प्रदेश सांसदहरूलाई पूर्वाधार विकासका नाममा दिइने रकम आगामी वर्ष पनि कायम रहन लागेको खबरप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नीति निर्माणमा केन्द्रीत हुनु पर्ने सांसदहरूलाई ‘ठेकदार’ बनाउँदै अर्को चुनाव जित्न सघाउ पुग्नेगरी हाल संघीय तथा प्रदेश सांसदहरूलाई दिइदै आएको वार्षिक लगभग रू २० अर्ब रकम नीतिगत भ्रष्टाचारको चरम नमूना रहेको साझा पार्टीले जनाएको छ ।
६.संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन
राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
७.कोरोना लक्षण देखिएकी महिलाको रिपोर्ट नआउँदै शव व्यवस्थापन
होम क्वारेन्टिनमा मुत्यु भएकी सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारकी २४ वर्षीया महिलाको शवलाई व्यवस्थापन गरिएको छ ।कोरोनाको लक्षण देखिएकी गर्भवतीको चार जना परिवारका सदस्यको उपस्थितिमा कञ्चनरुपस्थित सुन्दरीखोलाभित्रको जङ्गलमा लगेर सतर्कताका साथ शव व्यवस्थापन गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
८.तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबीच आपसी तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ‘लकडाउन’का कारण नयाँ मूल्य तोक्न नसकेको स्पष्ट पारिरहँदा आज एक्कासि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले सुनको कारोवार मूल्य तोकेपछि बजार तथा उपभोक्तामा अन्योल देखिएको हो ।
९.शिक्षामा २० प्रतिशतसम्म बजेट राख्न सुझाव
हाल शिक्षा क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट रहेकामा कोरोना महामारीको असरसमेत परेकाले यसलाई बढाएर २० प्रतिशतसम्म बनाउन सुझाव दिइएको छ ।शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आयोजित ‘शिक्षा बजेट कस्तो र कसरी ?’ विषयक भर्चुअल संवादमा पूर्व स्वास्थ्यमन्त्री तथा पूर्व शिक्षा सचिव विद्याधर मल्लिकले यो महामारीमा राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन (जिडिपी)को ५.५ प्रतिशतसम्म शिक्षामा लगानी गर्नुपर्ने बताए ।
१०.प्रेस युनियन अफ दी इयर अवार्ड श्रेष्ठलाई
प्रेस युनियन अफ दी इयर अवार्डबाट पत्रकार अनिषा श्रेष्ठ सम्मानित भएका छन् । युनियनका कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सो अवार्डबाट यस वर्ष पहिलोपटक श्रेष्ठ सम्मानित भएका युनियनका जिल्ला अध्यक्ष नवीन सिग्देलले बताए ।
११.'रियलमी एक्स फिफ्टी प्रो प्लेयर एडिशन' स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
विश्व बजारमा निकै छोटो समय अवधिमा फस्टाउन सफल चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो चर्चित एक्स सीरीज अन्तर्गतकाे नयाँ स्मार्टफोन लन्च गरेकाे छ । कम्पनीले 'रियलमी एक्स फिफ्टी प्रो प्लेयर एडिशन' (Realme X50 Pro Player Edition) नाम दिइएकाे नयाँ स्मार्टफाेन चीनमा अनलाइन इभेन्टमार्फत लन्च गरेकाे हाे ।