कञ्चनपुर– क्वारेन्टिनमै मृत्यु भएका कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको थ्रोट स्वाबको सङ्कलित नमूनाको पिसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ। राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन व्यवस्थापनको कार्य हेर्नका लागि गएका वडाध्यक्ष राना कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भइ मृत्यु भएको थियो।
राति नै रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। कोरोना भएकाे नभएको यकिन गर्नका लागि मृतक रानाको स्वाबको नमूना लिइएको थियो। अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार रानाको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ।
उनको अनुसार अस्पतालकै आइसोलेसनमा बसेका कैलालीका गौरीगङ्गा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको स्वाबको रिपोर्टसमेत नेगेटिभ आएको छ। इसोलेसनमा बसेका व्यक्तिको बुधबार बिहान ६ बजे मृत्यु भएको थियो। रासस