चितवन– लामो समयसम्म लकडाउन जारी रहँदा पूर्वी चितवनका किसानले लगाएको तरकारीसहित बारी जोताउन थालेका छन्। किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि तरकारीसहित नै जोत्न शुरु गरेका हुन्। खैरहनी नगरपालिका वडा नं १ बहेराका किसान वाससुदेव सापकोटाले तरकारी बिक्री नभएपछि खेतमा ट्र्याक्टर लगाएर जोताउन बाध्य भएको बताएका छन्।
यसपटक लकडाउनले गर्दा बजार मूल्य नपाएपछि सापकोटाले भिन्डीबारी जोताएका हुन्। उनले सात कठ्ठा जग्गामा भिन्डी लगाएका थिए। वैशाख महिनामा उनले रु १२ हजारको मात्र भिन्डी बिक्री गरेको बताएका छन्। त्यसयता उनको भिन्डीले बजार पाएको छैन। लकडाउन लम्बिँदा प्रायः धेरै किसान मारमा परेका छन्। सापकोटाले आफ्नो परिश्रमबाहेक सात कठ्ठामा रु ६५ हजार खर्च गरेर भिन्डी लगाएको जानकारी दिएका छन्।
उनले भने, ‘शुरुमा केही बिक्री भयो, अहिले सित्तैमा लैजानसमेत मान्दैनन्।’ बोटमा छिप्याएर राख्नभन्दा जोतेर अर्को बालीको तयारी गर्न उपयुक्त ठानेर तरकारीसहित बारी जोतेको उनको भनाइ छ। बाह्र वर्षअघि प्रतिकिलो रु दुईमा झरेपछि उनले त्यो बेला पनि तरकारीसहितको बारीमा ट्र्याक्टर लगाएका थिए। अर्का किसान कृष्णप्रसाद सापकोटाले २३ कठ्ठामा तरकारी खेती गर्दै आएका छन्। त्यसमध्ये छ कठ्ठामा भिन्डी खेती गरेका छन्।
अन्य तरकारीले बजार पाए पनि भिन्डीले भने मूल्य नपाउँदा उनी निरास छन्। भिन्डीसँगै जोडिएको जग्गामा मकैखेती गरेकाले एकैपटक जोत्ने तयारीमा उनी छन्। विदेशबाट फर्केर स्वदेशमै तरकारी खेती शुरु गरेका कृष्ण यसैबाट छोराछोरी पढाउने, घर खर्च चलाउने गर्थे। तरकारी खेती गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको वस्तुको समर्थन मूल्य सरकारले तोक्नपर्ने उनको भनाइ छ। उनीहरुले स्थानीय ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामार्फत तरकारी बिक्री गर्दै आएका छन्।
सहकारीका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले लकडाउनका कारण तरकारी सङ्कलनको काम बन्द भएको बताएका छन्। यहाँ उत्पादन भएको तरकारीको मुख्य बजार नारायणगढ, काठमाडाैं र पोखरा हो। अन्य जिल्ला लैजान अहिले समस्या छ सहकारीका अध्यक्ष जैसीले भने, ‘बिचौलिया हाबी हुँदा तरकारीले उचित मूल्य पाउन नसकेको हो।’ सो क्षेत्रमा अहिले ३०० किसानले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन्।
सहकारीका अध्यक्ष जैसीका अनुसार खैरहनी वडा नं १ बाट मात्रै वार्षिक रु नौ करोडको तरकारी उत्पादन हुँदै आएको छ। यहाँ भिन्डी, बोडी, बन्दा, काउली, गोलभेँडालगायत तरकारी खेती हुँदै आएको छ। गत वर्ष पनि यस क्षेत्रका किसानले उत्पादन गरेको तराकारीले बजार नपाएपछि खेतमै जोताएका थिए।
चैतेधानमा घाँटी मरुवा र डडुवा रोग
जिल्लाको पूर्वी क्षेत्रमा लगाइएको चैतेधानमा धानको घाँटी मरुवा र पात डडुवा रोग देखिएको छ। कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार खैरहनी र रत्ननगर नगरपालिकामा लगाइएको चैतेधानमा यस्तो समस्या देखिएको हो। कार्यालयका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार सो क्षेत्रमा लगाइएको हर्दिनाथ–१ र पिआर धानमा समस्या देखिएको हो।
यस धानमा गत वर्ष पनि यो समस्या देखिएको थियो। बातावरणअनुकूल हुन नसक्दा र रोग सहन सक्ने क्षमता कम भएको धानमा यो समस्या देखिने गरेको हो।अहिले खैरहनी नगरपालिकामा लगाइएको ५०० हेक्टर क्षेत्रफल र रत्ननगरमा फाट्टफुट्टरूपमा समस्या देखिएको उनले जानकारी दिएका छन्। ढुसीका कारण धानमा यो समस्या आउने उनले बताएका छन्।
अहिले लगाइएको धानमा रोग सहन सक्ने क्षमता कम हुने हुँदा रोगले सहजै आक्रमण गरेको उनको भनाइ छ। बाला निस्कनअघि ढुसीनाषक विषादी छर्नपर्ने हुन्छ। किसानमा ज्ञानको कमीका कारण विषादी नराख्दा समस्या भएको उनले जानकारी दिएका छन्। धानमा देखिएको समस्या समाधानका लागि कार्यालयले आकस्मिक बाली संरक्षण सेवाबाट काम गरिरहेको छ।
कार्यालयका प्रमुख राजन ढकालले स्थानीय तहहरुसँग सहकार्य गरी रोग नियन्त्रणका लागि काम भइरहेको बताएका छन्। स्थानीय तहमा रहेका कृषि शाखालाई यस विषयमा पूर्वजानकारी गराइएको भए पनि रोग लागेपछि नियन्त्रणका लागि प्रयोग गर्ने विषादी, मात्रा र विधिका बारेका किसानलाई जानकारी गराउँदै आएको जानकारी दिएका छन्। अहिले जिल्लामा छ हजार हेक्टरभन्दा बढीमा चैतेधान लगाइएको छ। रासस