रुकुम– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम (पश्चिम) ले चौरजहारी नगरपालिका वडा नम्बर–८, सोतीमा भएको घटनाको गम्भिर छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। बिहीबार पार्टीका केन्द्रीय सदस्य एवं रुकुम (पश्चिम)का इन्चार्ज राजकुमार शर्माको अध्यक्षतामा उपलब्ध केन्द्रीय कमिटी सदस्यहरु र प्रदेश कमिटी सदस्यहरुको बैठकले जेठ १० गते सोतीमा भएको घटना अत्यन्त दुःखद र निन्दनीय भएको नेकपा रुकुम (पश्चिम) का अध्यक्ष गोपाल शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा लेखिएको छ, ‘ यो घटनाले राजनैतिक परिवर्तनको स्तरमा सामाजिक र साँस्कृतिक रुपान्तरण अपुग भएको पुष्टि गर्दछ। यो घटनाले राजनैतिक परिवर्तनको स्तरमा सामाजिक र साँस्कृतिक रुपान्तरण अपुग भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ। ‘घटनाका सन्दर्भमा कानुनी कारवाहीका लागि मुद्धाको प्रक्रिया समेत शुरु भइसकेको र संघीय सरकारले समेत घटनाको यथार्थ छानविनको लागि समिति गठन गरि कार्यप्रारम्भ गरिसकेको अवस्थामा सरकारी संयन्त्रमार्फत भइरहेको छानविन र अनुसन्धानलाई पार्टी र स्थानीय सरकारको तर्फबाट पूर्णरुपले सहयोग गर्ने छ।’
घटनाको पृष्ठभूमिमा अन्तरजातीय प्रेमसम्वन्ध, स्थानीय र बाहिरवाट आएका युवाहरु बीचको विभिन्न अवस्थाको इगो र लकडाउन परिपालना गर्ने गराउने मनोविज्ञान देखिएता पनि भेरी नदीको किनारमा ५ जनाको शव भेटिएको र एक जना अझै वेपत्ता भएको अवस्थाले घटना गम्भीर प्रकृतिको देखिएको सो पार्टीले जनाएको छ।
सोती घटनाको सत्यतथ्य बुझ्न र अनुसन्धान कार्यमा सरकारी संयन्त्रलाई सहयोग गर्न संघीय सांसद जनार्दन शर्माको निर्देशन बमोजिम पार्टीले ३ सदस्यीय छानबिन समिति गठन गरेकोमा त्यसबारे थप अध्ययन सहितको प्रतिवेदन जिल्ला कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ।
सोती घटनाका सन्दर्भमा दलित समुदायबाट व्यक्त प्रतिक्रियालाई सम्मान गर्दै पार्टीको तर्फबाट उत्पीडित वर्ग र समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता पनि नेकपा रुकुम (पश्चिम) ले गरेको छ।
