काठमाडाैं- परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतसँगको सिमा समस्याको समाधान कुटनीतिक माध्यमबाटै खोज्न सरकारले औपचारिक वार्ताको प्रतिक्षा गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको राज्य ब्यवस्था समितिको शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले वार्ताका लागि औपचारिक मितिको प्रतिक्षा गरिरहेको बताए ।
उनले भारतसँगको सिमा समस्याको एकमात्र समाधानको उपाय कुटनितिक माध्यम नै भएको पनि दोहोर्याए । मन्त्री ज्ञवालीले सिमा सुरक्षाको काममा सशस्त्र प्रहरीलाई खटाउने तयारी भईरहेको जानकारी पनि दिए ।
भारतले लिपुलेक र लिम्पियाधुरा लगायतका नेपालका भूभाग समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि नेपालले त्यसको विरोध जनाउँदै कुटनीतिक स्तरमा वार्ताको प्रस्ताव गर्दै आएको छ । नेपालले गरेको वार्ताको प्रस्ताव बेवास्ता गर्दै भारतले सो क्षेत्रमा सडक निर्माण नै शुरु गरेपछि नेपालले पनि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको छ । नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपालले कुटनीतिक माध्यमबाटै समाधान खोज्ने भन्दै भारतसँग वार्ताका लागि आग्रह गर्दै आएको छ । यद्यपि भारतले वार्ताको प्रस्ताव अस्विकार गरेको छ ।
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभानेले लिपुलेकको मुद्धा नेपालले अहिले कसैको इसारामा उठाएको विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेका थिए । नेपाल सरकारले भारतिय राजदुतमार्फत पठाएको कुटनीतिक नोटको जवाफ भारत सरकारको औपचारिक तहबाट आउनुको सट्टा सेना प्रमुखबाट यस्तो अभिव्यक्ति आउनु आश्चर्यको विषय भएको परराष्ट्र मामिलाका विश्लेकहरु बताउँछन् । नरभानेले भारतीय एक संस्थाले आयाेजना गरेकाे वेबीनारमार्फत यस्ताे अभिव्यक्ति दिएका थिए ।