१. एकै दिन थपिए १ सय ७० कोरोना संक्रमित, संक्रमितकाे संख्या १२ सय १२
नेपालमा आज एकै दिन थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या १२ सय १२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न जिल्लामा गरी १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। आज सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै राैतहटका रहेका छन् ।
२. भारतसँग औपचारिक वार्ताको मिति पर्खिरहेका छौंः परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतसँगको सिमा समस्याको समाधान कुटनीतिक माध्यमबाटै खोज्न सरकारले औपचारिक वार्ताको प्रतिक्षा गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको राज्य ब्यवस्था समितिको शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले वार्ताका लागि औपचारिक मितिको प्रतिक्षा गरिरहेको बताए ।
३. नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड–१९)काे संक्रमणबाट छैटौं व्यक्तिको मृत्यु भएको छ। भारतबाट फर्कंदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो।
४. पहिलो पटक श्रम केन्द्रित बजेट : अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट श्रम केन्द्रित भएकाले विभिन्न पेशामा गरी करिब आठ लाख नयाँ रोजगारी सिर्जना हुने बताएका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार प्रस्तुत आगामी आर्थिक वर्ष २०७७l०७८ को बजेटका सम्बन्धमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ठोस काम गर्ने गरी परिमार्जनसहित सञ्चालन गर्दा थप दुई लाख, गरिबी निवारण कोषको रु १९ अर्ब परिचालनबाट डेढ लाख, सीपमूलक तालीमबाट ७५ हजार, सङ्घ र प्रदेशमा सञ्चालन हुने लामो र छोटो अवधिका तालीमबाट ५० हजार, युवा स्वरोजगार कार्यक्रमबाट १२ हजार गरी आठ लाख नयाँ रोजगारी सिर्जना हुने जनाएका हुन् ।
५. काठमाडौँमा नै छैन क्वारेन्टिन, सञ्चालनमा रहेका धेरै क्वारेन्टिन डब्ल्युएचओको मान्यताविपरीत
शहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाल सञ्चालनमा रहेका धेरै क्वारेन्टिन विश्व स्वास्थ्य सङ्गठनको मान्यताविपरीत रहेको निश्कर्ष निकालेका छन् । ती दुई मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सरकारलाई सुझाव समेत दिएका छन् ।
६. जेठ २१ पछी भर्ना प्रकृया खुलाउन निजी विद्यालय तथा अभिभावकहरुको माग
निजि विद्यालय तथा अभिभावकहरुले जेठ २१ गतेदेखी भर्ना प्रकृया शुरु गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । निजि विद्यालयका सञ्चालक तथा अभिभावहरुको ७ वटा छाता संगठनहरुले सयूंक्त विज्ञप्ती जारी गर्दै भर्ना प्रकृया शुरु गर्नेलगायत १० बुँदे धारणा सार्वजनिक गरेका छन् ।
७. ग्यास लिक भई आगलागी हुँदा पाँच घाइते
ग्यास लिक भई आगलागी हुँदा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ तरकारी बजारमा पाँच जना घाइते भएका छन्। रुकेश ठकुरीको तीन तले घरको तेस्रो तलामा रहेको भान्छामा आज बिहान ग्यास लिक भई आगलागी हुँदा घरधनी २६ वर्षीय रुकेश ठकुरी, उनको श्रीमती २४ वर्षीया शोफिया ठकुरी र डेढ वर्षीया छोरी रचना ठकुरीका साथै उनको आफन्त १६ वर्षीय आयुश ठकुरी र मनिष शाह ठकुरी घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।
८. अनिश्चितकालका लागि बन्द गरियो जटही र खजुरी नाका
भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ । भोकभोकै खान नपाएका कारण एक जनाको मृत्यु भएको एक दिन नबित्दै स्थानीय प्रशासनले सीमानाकाबाट आवतजावत पूर्णरूपमा बन्द गरेको हो ।
९. अब प्रत्येक रिचार्ज कार्ड र सिमकार्डमा दुई प्रतिशत कर लाग्ने
सरकारले आगामी आर्थिक वर्ष देखि लागू हुनेगरि मोबाइल फोनको रिचार्ज कार्ड र सिम कार्डमा स्वामित्व कर लिने भएको छ । यस अघि पोस्टेपेड नम्बर र ल्याण्डलाइन फोनमा मात्र स्वामित्व शूल्क लाग्दै आएकोमा अब भने प्रिपेड नम्बर र रिचार्ज कार्डमा दुई प्रतिशत टेलिफोन स्वामित्व कर लाग्ने भएको हो ।
१०. सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का
सरकारले सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने भएको छ । बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै अत्यावश्यक सेवाबाहेकका सार्वजनिक निकायमा सबै रिक्त दरवन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने जनाए ।
११. ६ दिनमै संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज
कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा भर्ना भएकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्केकी छन् ।यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरी उपचार गरिएको थियो ।
१२. सोती घटना प्रकरणः दोषीमाथि कडा कारवाही गर्न नेकपा रुकुम (पश्चिम) को माग
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम (पश्चिम) ले चौरजहारी नगरपालिका वडा नम्बर–८, सोतीमा भएको घटनाको गम्भिर छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। बिहीबार पार्टीका केन्द्रीय सदस्य एवं रुकुम (पश्चिम)का इन्चार्ज राजकुमार शर्माको अध्यक्षतामा उपलब्ध केन्द्रीय कमिटी सदस्यहरु र प्रदेश कमिटी सदस्यहरुको बैठकले जेठ १० गते सोतीमा भएको घटना अत्यन्त दुःखद र निन्दनीय भएको नेकपा रुकुम (पश्चिम) का अध्यक्ष गोपाल शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।