सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसिरहेकाे छ । बैठकमा पार्टीभित्र लामाे समयदेखि विवादित रहँदै आएकाे एमसिसिका सम्बन्धमा छलफल भइरहेकाे छ ।
पार्टीभित्रै विवादित बनेकाे एमसीसीकाे केही प्रावधान बजेटमा राखिएकाे भन्दै स्थायी समिति तथा केही सचिवालय सदस्यहरुले आवाज उठाएपछि नेकपाले सचिवालय बैठक बोलाएको हो। आजकाे बैठकमा एमसिसि कार्यदलका सदस्यहरु परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावलका साथै अर्थमन्त्री डा. युवराज खतिवडा पनि सहभागि छन्।
एमसिसिकै विषयमा शुक्रबार साँझ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच पनि छलफल भएकाे थियाे । छलफलमा दुवै अध्यक्ष शनिबार सचिवालय बैठक बोलाउने निश्कर्षमा पुगेका थिए ।
गत माघमा नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले एमसिसिका केही बुँदा संसाेधन गरेर मात्र पारित गर्नुपर्ने निश्कर्ष सहितकाे प्रतिवेदन सचिवालयमा पेश गरेकाे थियाे ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली भने संसदकाे यही अधिवेशनबाट एमसिसि पारित गर्नुपर्ने अडानमा छन् ।