सरकारले लकडाउनकाे अवधि जेठ ३२ गतेसम्म थप गरेको छ। शनिबारको मन्त्रिपरिषद बैठकले लकडाउनलाई प्रभावकारी बनाउन आवश्यक परेका स्थानहरुमा सेना समेत परिचालन गर्ने निर्णय पनि गरेको छ। मन्त्रालयसम्बद्ध श्रोतकाअनुसार लकडाउनको मोडालिटि भने केहि परिवर्तन हुनेछ भने हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द रहनेछ।
क्वारेन्टिनमा मृत्यू भएका दैलेखका यूवाको पिसीआर रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। दुल्लु नगरपालिका वडा नम्बर ८ निवासी ३५ वर्षिय युवकको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जानकारी दिएको छ।
नेपालमा शनिबार थप १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १ सय ८५ जना पुरुष र ४ जना महिला छन् । पछिल्लो विवरण अनुसार, सबैभन्दा धेरै काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा १ सय २४ जनामा कोरोना पोजिटिभ देखिएको हो । रुपन्देहीको प्रयोगशालामा गरिएको परिक्षणमा २९ जना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौंमा फेरी भुकम्पको धक्का महशुस गरिएको छ। शनिबार राती ९ बजेर ३६ मिनेटमा भुकम्पको धक्का महशुस भएको हो। भुकम्प मापन केन्द्रका अनुसार धादिङ सेन्टर भएर ४.८ रेक्टरस्केलको भुकम्प गएको हो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले एमसीसीबारे निर्णय गर्ने जिम्मेवारी संसदलाई नै सुम्पिने निश्कर्ष निकालेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकमा एमसीसी परियोजनाबारे सहमती नजुटेपछि निर्णय गर्ने जिम्मेवारी संसदलाई दिनेमा नेताहरु सहमत भएका छन् । यद्यपि एमसीसी संसदमा विचाराधीन रहँदासम्म त्यससँग सम्बन्धित बजेटमा उल्लेखित कुनै पनि प्रावधान कार्यान्वयन नगर्ने सचिवालयले निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्तावमाथि छलफल भएको छ। शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले नयाँ नक्सासम्बन्धि संविधान संशोधनको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन दिने प्रस्ताव पेश गरेका हुन् ।
गलकोट नगरपालिकामा शनिबार स्वाव संकलन गरिएको छ। छिमेकी मुलुक भारतबाट जेठ ११ गतेसम्म नगर प्रवेश गरेका २६ जना नागरिकको स्वाव संकलन गरिएको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिए। नगरभित्र कोरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिम कम गर्दै उच्च सतर्कता अपनाउन पीसीआर परिक्षणको दायरा अगाडि बढाइएको प्रवक्ता भण्डारीको भनाई छ।
कोभिड–१९ का कारण उत्पन्न असहज अवस्थामा सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारको नीति तथा कार्यक्रम पेश हुनुअगावै प्रस्तुत गर्नुपर्ने वार्षिक प्रतिवेदनलाई प्रायः अन्तिम रुप दिएको छ । प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार परराष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हुने कामको अनुगमन र मूल्याङ्कन गरी आवश्यक सुझाव एवं निर्देशन दिने समितिले एक वर्षभित्र गरेका काम कारवाही समेटिएको वार्षिक प्रतिवेदनलाई अन्तिम रुप दिन समितिको आजको बैठकमा निर्णय नभए पनि आगामी बैठकमा प्रतिवेदन टुङ्ग्याउने गरी बैठक गर्ने सभापति पवित्रा निरौला खरेल बताउछिन् ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले आफ्ना वार्षिक कार्यप्रगति प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकले वार्षिक प्रगतिको मस्यौदा प्रतिवेदन संशोधनसहित पारित भएको सभापति निरुदेवी पालले जानकारी दिइन् । पारित प्रतिवेदन प्रतिनिधिसभाको आगामी बैठकमा पेश गरिनेछ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता र सामाजिक कार्यक्षेत्र रहेको समितिले गएको एक वर्षमा कार्यसम्पादन गर्ने क्रममा धेरै महत्वपूर्ण विषयमा छलफल गरी विभिन्न समयमा सरकारलाई अनुरोध र निर्देशन गरेको थियो ।
बाजुराको बुढीगङ्गा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गएराति बच्चा जन्माएकी छन्। सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति १० बजेतिर बच्चा जन्माएकी हुन्। वडा सदस्य ललित थापाका अनुसार कामको सिलसिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएका थिए। भारतबाट आएको तीन दिनपछि क्वारेन्टिनमा बसेका बेला २० वर्षीया चदाराले पहिलो बच्चाका रुपमा छोरी जन्माएको उनले बताएका छन्।
भारतबाट आएका ८ सय २८ जनालाई क्वारेन्टिनमा राखिएको छ । भारतको विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई यहाँस्थित विभिन्न क्वारेन्टिनमा राखिएको हो । गएको साता भारतबाट जिल्ला भित्रिएका ८ सय २८ जनालाई यहाँस्थित ८० वटा क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार बागलुङको बडिगाड गाउँपालिकाकास्थित क्वारेन्टिनमा सबैभन्दा बढी २ सय ५९ व्यक्तिलाई राखिएको छ भने सबैभन्दा कम १४ जना तमानखोला गाउँपालिकास्थित क्वारेन्टिनमा राखिएको छ ।
बैतडीका कोरोना सङ्क्रमितको पिसीआर परीक्षण पुनः गरिने भएको छ। जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको हो। स्वाब सङ्कलनपश्चात परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिएका छन्। जेठ ९ गतेदेखि आइसोलेसनमा रहेका ती युवकमा कोरोना ठिक नभएको जानकारी लिन पिसीआर परीक्षण गरिन लागिएको हो।
बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको छ। मध्यपुरथिमि नगरपालिका–६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति २ः१५ बजे एटिएम फुटाउँदै गरेको खबर आएलगत्तै प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक राजीव गिरी नेतृत्वको टोलीले एनआइसी एशिया बैंकको एटिम फुटाउँदै गरेका तामाङलाई पक्राउ गरेको थियो।