सन १९८७ देखि नै ३१ मेका दिन विश्व धुम्रपानरहित दिवस मनाउँदै आएका छौं ।विश्वभर रहेका मानिसहरुको स्वास्थ्यलाई ध्यानमा राखेर यसबाट हुन सक्ने जटिलताहरु न्युनिकरण गर्नेतर्फ सचेत गराउँदै संसारभर यो दिवस मनाउने गरिन्छ। आजको दिन धुम्रपानको खपत कम गर्न नीति बनाउने तथा समाजमा धुम्रपान सम्बन्धि जनचेतना कार्यक्रम गर्ने र चुरोट, गाँजा, हूक्का, विडी लगायतका धुवाजन्य उपभोगका वस्तुले स्वास्थ्यमा गर्ने हानीका बारेमा संसारभर जनजागरण फैलाउने गरिन्छ।
डब्ल्यु एच ओले गरेको अनुसन्धानमा आधारित नेपाल टोबेको फ्याक्टुसिट २०१८, अनुसार नेपालमा प्रत्येक वर्ष २७,१३७ जनाको मृत्यु सुर्तिजन्य पर्दाथको सेवनले गर्दा भएको छ । मृत्युदरको १४.९ प्रतिशत सुर्तिजन्य पर्दाथको सेवन तथा त्यसबाट हुने रोगको कारणले गर्दा भएको पाइएको छ।
धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भनेर सुर्तिजन्य पदार्थको खोलमा लेखेता पनि संसारभर हरेक मिनेटमा १ करोड चुरोट विक्री भएको पाइएको छ। सुर्तिमा ४ हजार किसिमका रसायनीक पदार्थहरु हुन्छन जसले हाम्रो स्वास्थ्यलाई नराम्रो असर गर्दछ। सुर्तिमा धेरै मात्रमा निकोटिन रसायन हुन्छ, जसलाई नेपालमा चुरोट, बिडी, ककेड, हुक्का तथा गाँजाका माध्यमबाट प्रयोग गरिन्छ।
यसमा भएको निकोटिन र धुम्रपानबाट उत्पन्न हुने कार्वन मनोअक्साइडले मानिसको रगतमा र मस्तिष्कमा समेत नराम्रो प्रभाव पर्ने गर्दछ । धुम्रपान सेवनले लाग्ने रोगहरु यसप्रकार छन ।
- मूटूको रोग लाग्ने
- दम, खोकी, ब्रोङकाइटिस
- फोक्सोको क्यान्सर
- मस्तिकघात, उच्चरत्तचाप
- गिजा र दाँतमा समस्या
- गर्भअवस्थामा सेवन गर्यो भने त्यसले गर्दा गर्भको बच्चा कमजोर र आपाङ्ग जन्मिनु, बच्चाको बृद्धिविकासमा असर पार्नु
- काम गर्ने क्षमता कम हुदै जानु
धुम्रपान बाट हुन सक्ने यी रोगहरु आफुले प्रत्यक्ष धुम्रपान सेवनबाट मात्र हुन्छ भन्ने छैन, यदी हामी “प्यासिभ स्मोकर (Passive Smoker) अर्थात अप्रत्यक्ष रुपमा त्यस धुम्रपानको धुवासँग सम्पर्कमा भएका छौ भने हामीलाई पनि हुन सक्छ।
“प्यासिभ स्मोकर ''लाई विशेष गरी फोक्सोको क्यान्सर हुने सम्भावना २० देखि ३० प्रतिशत हुन्छ। यसमा बालबालिकाहरु प्रभावित भएका हुन्छन ।
धम्रपानले र बच्चामा पर्ने असरहरु प्रत्यक्ष रुपमा गरिने र अप्रत्यक्ष रुपमा गरिने धुम्रपानको धुवाले बच्चाहरुलाई धेरै असर गरेको हुन्छ । गर्भ अवस्थामा धुम्रपान गर्नाले गर्भमा भएको बच्चालाई पनि उत्तिनै असर गरेको हुन्छ। चुरोटमा हुने निकोटिन र कार्वन मनो अक्साइड र अन्य क्यान्सर गराउने विषादीहरु रक्तसञ्चारको माध्यमबाट गर्भमा हुर्कदैं गरेको बच्चाको शरीरमा पुगेर बच्चालाई असर पार्छ।
गर्भावस्थामा धुम्रपान सेवन गर्नाले बच्चाको मुटुको बनावट र मुटुको चालमा असर पार्छ। बच्चाको शारीरिक र मानसिक विकासमा अवरोध हुन सक्छ र रोग प्रतिरोध क्षमतामा कमि हुन सक्छ, साथै बच्चा अपाङ्ग र सुस्त मनस्थितिको जन्मन सक्छ। गर्भावस्थामा धुम्रपान गर्नाले गर्भपतनको खतरा, कमतौल भएको बच्चा वा समय अघिनै बच्चा जन्मने खतराहरु पनि हुन सक्छ।
गर्भवती महिलाले धुम्रपान नगरेपनि वरपर रहेका परिवारका अन्य सदस्यले धुम्रपान गरेमा समेत गर्भमा रहेको बच्चाको स्वास्थ्यमा प्रभाव पर्छ । यतीमात्र होइन, बच्चा जन्मेर युवा अस्वथा लाग्दै गएपछि धुम्रपान नगर्ने व्यत्तिहरुमा पनि फोक्सो सम्बन्धि गम्भीर समस्या देखिन सक्छ । यदी गर्भवती महिला वा परिवारका अन्य सदस्यले धुम्रपान सेवन गर्दथे भने जन्मेको बच्चा ठूलो भएपछि उसमा पनि धुम्रपानको लत लाग्ने खतरा रहन्छ ।
बालबालिका र युवालाई धुम्रपानको लत लाग्न नदिन के गर्ने ?
- सर्वप्रथम त धुम्रपानले हिरो हैन, जिरो बनाउँछ भन्ने कुरा युवाहरुलाई बुझाउन जरुरी छ, यसले हाम्रो शरिरलाई गर्ने नकारात्मक असरहरुको बारेमा विभिन्न माध्यमहरु बाट जानकारी दिनुपर्छ।
- युवाहरुलाई नाई भन्ने शब्दको प्रयोग गर्न लगाउनु पर्छ, यदी कसैले धुम्रपानको लागि कर गर्दै छ वा उसको अगाडी गर्दै छ भने नाई म गर्दिन भन्न लगाउने।
- धुम्रपान महङ्गो छ भन्ने कुरा बझाउनुपर्छ, दिन दिनै धुम्रपान गर्नको लागि खर्च गरिने पैसा र धुम्रपानले गर्दा स्वास्थ्यमा समस्या आएपछि पर्ने आर्थिक भारको बारेमा प्रस्ट पार्नु हुन्छ।
- परिवारका सदस्यहरुले वा अभिभावकहरुले बालबालिकालाई धुम्रपान खरिद गर्न नपठाउने साथै उनीहरुको अगाडी धुम्रपानको सेवन नगर्ने।
- समाजको रितिरिवाजहरुमा धुम्रपानको प्रयोग कम गर्ने ।
- संचारका हरेक माध्यमहरुमा धुम्रपानलाई बढावा दिने सामग्रिहरुको प्रचार प्रसारमा रोक लगाउर्ने।
आज “विश्व धुम्रपानरहित दिवस” मा धुम्रपान गर्दै आएकाहरुले समेतहरेकदिन अबको २४ घण्टा म धुम्रपान सेवन गर्दिन भन्ने प्रण गरौं र आफुँमा हुने परिवर्तन महसुस गरौं। धुम्रपानरहित दिवको सबैमा शुभकामना।