काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी तीनवटा मुद्दा दायर गरेको छ । ती मुद्दामा आठजनालाई प्रतिवादी बनाइएको छ । सुनसरीको दुहबी नगरपालिका–८ मा १४ कठ्ठा जग्गा बिक्रीमा कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व छली गरेको भन्दै आयोगले पाँचजनाविरुद्ध मुद्दा दायर गरेको छ ।
मालपोत कार्यालय इनरुवाका प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा, मालपोत अधिकृत मात्रिका दंगाल, नासु गोविन्द पौडेल, दुहवी नगरपालिका–८ का अध्यक्ष तारिकचन्द्र सरदार, मन्दिर व्यवस्थापन समितिबाट अख्तियारी पाएका उपाध्यक्ष उज्याला मानन्धर, जग्गा खरिदकर्ता गोविन्दकुमार बजगाईंविरुद्ध मुद्दा दायर भएको हो । राधाकृष्ण मन्दिर सोनापुरको नाममा रहेको सो जग्गा दुई वर्षअघि बजगाईंलाई बिक्री गरिएको थियो ।
सुरुमा सो जग्गा बजगाईंको नाममा पास गरेलगत्तै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रहेका मानन्धरले आफैँ खरिद गरेका थिए । सात लाख ७१ हजार प्रतिकठ्ठाका दरले बिक्री गर्ने निर्णय भएकोमा जग्गा बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर पाँच लाख २१ हजार पाँच सय, रजिस्ट्रेसन शुल्क तीन लाख ७७ हजार एक सय ५० गरी आठ लाख ९८ हजार चार सय पाँच रुपैयाँ राजस्व छली गरेको अभियोग छ।
सुरुमा जग्गा किन्ने बजगाईंले राधाकृष्ण मन्दिरको कित्ता नम्बर १३ को जग्गा खरिद गर्दा नै रजिस्ट्रेसन दस्तुर दुई लाख १५ हजार नौ सय २० रुपैयाँ नबुझाएको खुलेको छ । दुहबी नगरपालिका–८ का वडाध्यक्ष तारिकचन्द्र सरदारले राधाकृष्ण मन्दिरको नाममा रहेको जग्गा भित्री बाटोले छोएकोमा सिफारिसमा बाटोले नछोएको भनी गलत सिफारिस दिएका थिए । जसबाट रजिस्ट्रेसन र पुँजीगत लाभकर छल्न सहज भएको थियो । उनीविरुद्ध नौ लाख १९ हजार एक सय २८ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।
मालपोत कार्यालय इनरुवाका प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापाले लिखत पास गर्दा स्थानीय निकायको घरबाटोको सिफारिस, जग्गाको तोकिएको न्यूनतम मूल्यांकन, संस्थाका नामको जग्गा पारित गर्दा व्यवस्थापन समितिको जग्गा बिक्री गर्ने निर्णयजस्ता विषय नहेरी रजिस्ट्रेसन पास गराएका थिए । उनीविरुद्ध सात लाख ५५ हजार ६ सय २० रुपैयाँ बिगो दाबी गरिएको छ । मालपोत अधिकृत मात्रिका दंगालले गोविन्दकुमार बजगाईंको नामबाट उज्याला मानन्धरको नाममा लिखत पारित गर्दा कर छल्न सघाएका थिए ।
वन प्रमुख जयमंगलविरुद्ध मुद्दा
डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसादविरुद्ध पनि मुद्दा दायर भएको छ । उनी गत महिना ६ लाख घुससहित पक्राउ परेका थिए । चुनढुंगा उत्खननमा सहज गरिदिने भन्दै उनले घुस लिएका थिए ।
आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित सहिद स्मृति सामुदायिक वन उपभोक्ता समूहमा भएको अनियमिततामा पनि दुईजनाविरुद्ध आइतबार मुद्दा चलाएको छ । उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर विष्ट र स्थानीय नवराज जोशीविरुद्ध मुद्दा दायर गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।