वर्तमान परिस्थितिमा विश्व नै कोरोना कहरबाट प्रभावित भएर आर्थिक संकटबाट गुज्रिरहेको छ। र , आर्थिक स्थीतीलाई सुधार्न मजबुत कडीका रुपमा रहेका शिक्षा क्षेत्र निकै प्रभावित भएको सर्वविदितै छ। यो कहरमा नेपाल पनि नराम्रो तरिकाले फसेकै छ। यद्यपि कोरोना संक्रमितको संख्या अरु देशको तुलनामा कम छ र मृतकको संख्या पनि नगण्य मात्रामा छ, जुन सकारात्मक परिस्थितिको संकेत हो। दुई महिनाको लकडाउनले अर्थ व्यवस्था सँगसँगै शैक्षिक क्षेत्र पनि पुर्णतया प्रभावित भएको स्पष्ट दृष्टान्त हो।
भोलिपल्टबाट शुरु हुने भनिएको एसईई परीक्षा एकदिन अगाडि अनिश्चितकालका लागि स्थगित हुँदा अहिलेसम्म विद्यार्थीहरु परीक्षा हुने कि नहुने भन्ने अन्यौलमै छन्। वैशाख ८ गते र वैशाख २१ गतेबाट हुने भनिएको कक्षा १२ र ११ को परीक्षा अनिश्चितकालका स्थगित हुँदा थप अन्यौल सिर्जना भएको छ।
एकातिर देशका भविष्यका कर्णधारका रुपमा रहेका लाखौं विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने जिम्मेवारी छ भने अर्कोतिर स्वास्थ्य जस्तो अति संवेदनशील विषयलाई ध्यानमा राखेर धेरै संख्यामा मानिसहरूको भेला कुनै हालतमा गर्न नहुने भनेर स्वास्थ्य 'गाइडलाइन' पनि छ । यसको परिपालना गर्नुपर्ने सबैको नैतिक धर्म पनि हाे ।
यस्तो भयावह परिस्थितिमा दुबै विषयलाई गम्भीरतापूर्वक विश्लेषण गर्दै एउटा मध्यमार्गी बाटो अपनाई उच्च सतर्कताका साथ समस्याको समाधान गर्न सकिन्छ र यो आजको आवश्यकता पनि हो। अहिले प्रमुख चुनौतीको रुपमा रहेको एसईई परीक्षा चैत्र मसान्तभित्र सकेर असारको दोस्रो साता वा कहिलेकाही तेस्रो सातासम्म नतिजा प्रकाशित हुनेगरेको थियाे । तर , यो वर्ष कोरोनाको प्रभावले जेष्ठ दोस्रो साता बितिसक्दा पनि परीक्षा हुने नै भनेर कुनै त्यस्तो वातावरण सिर्जना भएको वा गरेको देखिदैन।
यस्तो स्थितिमा कहिले परीक्षा हुने र कहिले नतिजा प्रकाशित गर्ने ताकी साधारणतया साउनको दोस्रो सातादेखि शुरु हुने कक्षा ११ को वार्षिक कार्यतालिकामा पनि कुनै प्रभाव नपरोस भन्ने चिन्ताले प्रश्न चिन्ह खडा गरेको छ।
कक्षा १२ को परीक्षा पनि वैशाखमा सकेर नतिजा साउनको दोस्रो अथवा तेस्रो सातासम्म आउनुपर्ने हो। तर, सरकारको यस्तो प्रष्ट रुपले कुनै तयारी सार्वजनिकरुपमा देखिएको छैन जसले थप अन्यौल सिर्जना गरेको छ। केही विद्दालयहरुले विद्यार्थीहरुको शिक्षास्तर टिकाईराख्न र उनीहरुलाई मजबुत राखिरहन पहुच भएसम्म विद्युतीय कक्षा अर्थात अनलाइन कक्षा सञ्चालन गर्दैआएका छन जुन निकै नै सराहनिय कदम हो।
तर परीक्षाको सुनिश्चितता नहुदा विद्यार्थीहरु पनि विस्तारै हरेस खाएर पढेकै कुरा कति पढिराख्ने भनेर निराश हुँदै गइरहेका छन जुन कुनै पनि तवरले देशको भविष्यको लागि शुभ संकेत होइन। यस्तो बाट निकास पाउन केही उपायहरू छन्, जुन अपनाउँदा जोखिमरहित तरीकाले समयमा परीक्षा सञ्चालन गरेर पहिलाकै वर्षहरुजस्तै सही समयमै नतिजा प्रकाशन गर्न र नयाँ शैक्षिकसत्र शुरु गर्न सकिन्छ।
पहिला कुरा गरौं, एसईई र कक्षा १२ को परिक्षाकाे, जुन ढिलो भैसकेको अवस्था छ र समयमै नतिजा आउनेमा अहिलेसम्म कुनै रुपले विश्वस्त हुने परिस्थिति देखिएको छैन । एकथरी विचार उठिरहेको छ "अब ढिलो भयो "। परीक्षा नलिएर बरु विद्यालयले लिदैआएको त्रैमासिक तथा टेस्ट/ एसईई तयारी परीक्षाका आधारमा विद्यार्थीलाई मूल्याकंन गरि सिधै प्रमाणपत्र दिनुपर्छ भने अर्कोसमुहको दृष्टिकोण छ। यो विचारसँग अधिकांशको सहमति देखिन्छ। तर ,अर्कोथरी तर्क यो पनि उठिरहेको छ कि ढिलै भएपनि परीक्षा लिनुपर्छ।
नत्र अहिलेसम्मको 'प्राक्टिकल ' परीक्षाको अंक दिने गरेको प्रवृती हेर्दा सबै बिद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई जथाभावी ' ए प्लस ' मात्रै दिएर प्रमाणपत्र बाड्न बेर लाउँदैनन्। जसकारण, हाम्रो देशको परिप्रेक्ष्यमा उचित मूल्यांकनका लागि परीक्षा लिनु अनिवार्य देखिन्छ, अन्य विकल्प जायज देखिन्न। सावधानीपूर्वक परीक्षा समापन गरेर समयमै नतिजा प्रकाशित गर्न निम्नानुसार गर्ने हो भने सम्भव छ।
गुगलमा उपलब्ध एक डाटाअनुसार देशमा भएको करिब १० विश्वविद्यालय, १४०० आङ्गिक क्याम्पसहरु र ३५,२२२ आधारभूत तथा माध्यमिक (सरकारी तथा निजी) विध्यालयहरु छन्। सबैको भौतिक संरचनालाई एसईई तथा १२ कक्षाको परीक्षाको लागी प्रयोग गर्न सकिन्छ।
'भौतिक दुरी' कायम हुनेगरी एउटा डेस्कको अर्को डेस्कसङ्गको दुरी ध्यानमा राखी एउटा डेस्कमा एक वा दुई जना बस्नेगरी व्यवस्था मिलाउनुपर्छ। सामान्य हिसाबले सोच्दा पनि कक्षा १० सम्म अथवा प्लस टू सम्म पठनपाठन हुने बिद्यालयहरुमा लगभग १० भन्दा बढी कक्षाकोठा हुन्छन जुन त्यैं विद्यालयबाट एसईई दिने विद्यार्थीहरुलाई एउटा डेस्कमा एकजना मात्रै बस्ने व्यवस्था मिलाउँदा पनि बस्ने डेस्कदेखी कक्षाकोठासम्मको अभाव हुँदैन। ठुला बिद्यालयहरुमा भौतिक संरचना पर्याप्त भएकोले अरु विद्यालयहरूको पनि धेरै परीक्षार्थी राख्न सकिने व्यवस्था मिलाउनुपर्छ । र, अझै राम्रो गर्न प्रत्येक नगरपालिका, गाउपालिका तथा प्रमुख शहरहरुभित्रको विद्यालयहरुको परीक्षा केन्द्र परिवर्तन गरेर परीक्षा सञ्चालन गर्न सकिन्छ।
परीक्षा सञ्चालनका लागि चाहिने जनशक्ति सरकारी तथा निजी दुबै विद्यालयबाट लिएर प्रयोग गर्न सकिन्छ। स्वास्थ्यको हिसाबले हेर्दा परीक्षा लिइने कक्षाकोठा परीक्षा हुनुअघी नै प्रत्येक दिन ' स्यानिटाइज ' गर्ने, परीक्षा एक-एक दिनको अन्तरालमा लिने, परीक्षार्थीको बस्ने स्थान परिवर्तन नगर्ने तथा प्रश्नपत्र तथा उत्तरपुस्तिका बाड्ने /बुझाउने बेलामा स्यानिटाइजर प्रयोग गर्न प्रत्येक कोठामा कमसेकम एउटा सानो स्यानिटाइजरको प्रबन्ध गर्ने जस्ता व्यवस्था मिलाउनुपर्छ। परीक्षार्थीहरुको स्थान परिवर्तन नगर्दा कोही संक्रमित भएको खण्डमा पनि सर्न सक्दैन।
एक/एक दिनको अन्तरालमा परीक्षा लिँदा भौतिक बस्तुहरु जस्तै बेन्चडेस्क, टेबुल,कुर्सी इत्यादीमा यदी भाइरस भएपनी ४८ घण्टामा मरेर जाने र बाँकि रहेको ' स्यानिटाइज ' गर्दा पनि हटेर जानेछ। अहिलेसम्म डाक्टरहरूले सार्वजनिक गरेको तथ्य तथा बच्ने तरीकाहरु यस्तै छन्, जसलाई परीक्षाको सन्दर्भमा सहजै प्रायोगिक बनाउन सकिन्छ ।
पहिला परीक्षा लिइसकेका उत्तरपुस्तिकालाई एक हप्तासम्म ' स्यानिटाइज ' गरिसकेको बन्द कोठामा राख्ने अनि त्यसपछि मात्रै जाच्नलाई पठाउने व्यवस्था मिलाउनुपर्छ। अहिलेसम्म सामान्यतया काठमाडौ तथा मुख्य शहरहरुमा मात्रै उत्तरपुस्तिका जाँच्न पठाउने प्रचलन छ। यस असमान प्रवृत्तिलाई परिवर्तन गरेर एउटा जिल्लाभित्रका उतरपुस्तिका त्यहीँ जिल्लामा वा नजिक पर्ने छिमेकी जिल्लामा पठाएर जाँच्ने व्यवस्था मिलाउनुपर्छ।
सरकारी विद्यालयका शिक्षक/शिक्षिकाले मात्रै उत्तरपुस्तिका जाँच्न पाउने व्यवस्थालाईसमेत परिवर्तन गरेर निजी विद्यालयमा कार्यरत योग्यताप्राप्त शिक्षक/शिक्षिकाहरुलाई पनि उत्तरपुस्तिका जाँच्ने कार्यमा संलग्न गराउनुपर्छ। यस्तो व्यवस्थाले उत्तरपुस्तिका जाँच्ने जनशक्ति झण्डै ४/५ गुणाले बढ्छ। यसरी समयमै वा समय अगावै उत्तरपुस्तिका जाँच्ने काम सकिने सम्भावना हुन्छ। यस्तो गर्दा बुझौँ कि, एउटा विद्यालयको विद्यार्थीहरुको उत्तरपुस्तिका सामन्यतया कुनै एउटा शिक्षकको जिम्मामा पर्न जान्छ ,जुन १/२ हप्तामा मात्र जाँच्न सकिन्छ। नतिजा बनाउने काम पनि जिल्लास्तरमै छुट्टाछुट्टै बनाउन दिने व्यवस्था मिलाउनुपर्छ।
एसईई सकेको दुईदिन पछिदेखि एसईईको जस्तै चुस्तदुरुस्त व्यवस्था मिलाई सावधानी अपनाई कक्षा १२ को पनि परीक्षा लिन सकिन्छ।
माध्यमिकस्तरको शिक्षक/शिक्षिकाहरुलाई एसईईको उत्तरपुस्तिका जाँच्न लगाउने र बाँकी प्राथमिक देखि उच्चमाध्यमिक सम्मका कार्यरत जनशक्तिलाई कक्षा १२ को परीक्षामा प्रयोग गर्न सकिन्छ। कक्षा १२ को उत्तरपुस्तिका जाँच्ने र नतिजा प्रकाशनमा पनि एसईईको जस्तै व्यवस्था मिलाएर जिल्लास्तरमै उत्तरपुस्तिका साटफेर गरेर जाँच्ने र नतिजा प्रकाशन गर्ने हो भने पहिलाको जस्तै साउन अन्तिम सातासम्म नतिजा प्रकाशन गर्न सकिन्छ। कक्षा ११ को जाँचको सम्बन्धमा भने केही फरक तरीका अपनाउँदा राम्रो हुन्छ।
सामान्यतया कक्षा ११ को परीक्षा वैशाखमा सकेर कक्षा १२ को पठनपाठन जेष्ठको अन्तिम साता अथवा असारको पहिलो सातामा शुरु हुने गरेको छ। अब यस्तो स्थितिमा कक्षा ११ को परीक्षा एसईई र कक्षा १२ को परीक्षापछि लिँदा ढिलो हुने देखिन्छ। यस्तो अवस्थामा कक्षा ११ का लागि कक्षा १२ को नयाँ शैक्षिक शत्र शुरु हुनु सबैभन्दा जरुरी देखिन्छ।
यस मामिलामा केही अलग यस्ता उपायहरू अपनाउँदा उत्तम हुन्छ। कक्षा ११ को परीक्षा नै नलिई विद्यालयहरु (प्लस टू) ले आफैले लिएको त्रैमासिक परीक्षाको मूल्याकंनको आधारमा सिधै नतिजा प्रकाशन गरेर कक्षा १२ को शैक्षिकसत्र अनलाइन कक्षा अथवा कक्षाकोठामा सामान्य तरिकाले कोरोना महामारीको स्थिती हेरेर कक्षा सञ्चालन गर्नदिने व्यवस्था मिलाउनुपर्छ।
विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डले अर्कोवर्ष लिने कक्षा १२ को परीक्षामा ११ कक्षामा पाएको कुल प्राप्ताङ्कको कमसेकम ८० प्रतिशत अथवा ७० प्रतिशत ल्याउनैपर्छ नत्र त्यो भन्दा कम आएमा कक्षा ११ को नतिजा पनि सोही अनुसार २० अथवा ३० प्रतिशतले घट्ने जस्ता 'बाइन्डीङ्ग' नियम बनाउनुपर्छ, ताकी विद्यालयले मनपरी ढङ्गले अङ्क प्रदान गरेर प्रमाणपत्र नबाडोस्।
अर्को सामान्य तथ्य- कुनै पनि विद्यार्थीको पढाईको क्षमताको आधारमा उसले ल्याउने प्राप्ताङ्क लगभग प्रत्येक परीक्षामा मिल्दोजुल्दो हुन्छ। त्यही भएर कहिलेकाहीं परीक्षामा नराम्रो गरेमा सामान्यतया २० अथवा ३० प्रतिशतले कमीबेसी हुनसक्ने सामान्य आँकलन भएकोले यो एकदमै उपयुक्त हुने देखिन्छ।सरोकारवालाले 'सफ्टवेयर' बनाएर कक्षा ११/१२ को नतिजा मिलाउने वा जोड्ने बेलामा यो सफ्टवेयरको माध्यमले सजिलै गर्न सकिन्छ।
विश्वविद्यालयस्तरमा यो प्रयोग भईसकेको बिधि हो। तर, यो योजना एसईई र कक्षा १२ को सन्दर्भमा उपयुक्त छैन किनभने एसईईको नतिजाको त्यसपछिको कक्षाको ११ को नतिजासङ्ग कुनै तालमेल हुँदैन्। र , कक्षा १२ को नतिजाको त्यसपछीको विश्वविद्यालयको नतिजासङ्ग कुनै सरोकार हुँदैन जसले गर्दा यसमा हुनसक्ने मूल्यांकनको लापरबाहीलाई नियन्त्रण गर्न सकिँदैन।
परीक्षा गर्न चाहे सम्भव छ, नगरे सबै असम्भव छ। तिनै तहको सरकारले यस्तो नितीमा जोड दिने हो भने भाइरस संक्रमण नियन्त्रण पालना गरेर पनि समयमै परीक्षा लिने, नतिजा प्रकाशन गर्ने र समयमै नयाँ शैक्षिकसत्रको सुरुवात गर्न सकिने प्रबल सम्भावना छ। यो सन्दर्भमा सकारात्मक तवरले सोच्नु आवश्यक छ। र , परीक्षा सम्भव छ।
(महतो अङ्ग्रेजी विषयका प्राध्यापक हुन्।)