एजेन्सी– रुसका अस्पतालहरुले अर्को सातादेखि कोरोना भाइरस (कोभिड–१९) को एन्टीभाइरस औषधी प्रयोगमा ल्याउने भएका छन्। रुसका सम्प्रभु वेल्थ फण्ड आरडीआईएफका प्रमुख किरील दिमित्रेवले समाचार एजेन्सी रायटर्सकाे एक संवादमा एविफैविर नामक यो औषधी कोरोना भाइरसको लागि प्रभावकारी भएको भन्दै अर्को सातादेखि संक्रमितलाई दिइने बताएका हुन्।
उनकाअनुसार औषधी उत्पादक कम्पनीले एक महिनामा ६० हजार मानिसको लागि औषधी उत्पादन गर्ने छ। हालसम्म कोरोना भाइरसको कुनै पनि औषधी तथा भ्याक्सिन बनिसकेको छैन। विश्वका धेरै मुलुका वैज्ञानिकहरुले औषधी बनाउने प्रयासमा जुटिरहेका छन् भने केही औषधी बनिसकेको भए पनि परिक्षणको लागि अनुमती पाइसकेका छैनन्।
एविफैविर औषधी सन् १९९० को अन्त्यमा एक जापानी कम्पनीले बनाएको थियो। आरडिआईएफका प्रमुख दिमित्रेवका अनुसार रुसी वैज्ञानिकहरुले सो औषधीको मोडीफाई गरेर धेरै प्रभावकारी बनाएका छन्। दुई साता पछि माङस्कोले यो औषधीको मोडिफिकेसनको जानकारी सार्वजनिक गर्ने छ।
जापानले पनि यो औषधीको एविगान नाम दिएर परिक्षण गर्दै आएकाे छ। जापानका प्रधानमन्त्री सिन्जो आबेले यो औषधीको प्रशंसा गर्दै १२.८ करोड डलरको बजेट छुटाएका छन्। जापानमा हालसम्म यो स्वीकृत औषधीको सुचीमा भने राखिएको छैन। तर रुसले यो औषधी गत ३० मे मा स्वीकृत औषधीको सुचीमा राखिसकेको छ।
त्यहाँ ३ सय ३० जना मानिसमा यो औषधीकाे परिक्षण गरिएको छ। दिमित्रेवका अनुसार परिक्षण गरिएका संक्रमितमध्ये प्राय चार दिनमा कोरोना भाइरसबाट मुक्त भए। यो नतिजा पश्चात पुर्वनिर्धारित समयभन्दा पहिला नै रुसका स्वास्थ्य मन्त्रालयले यो औषधीको प्रयोगका लागि अनुमती दिएको हो।
प्राय कुनै पनि औषधीको परिक्षणमा धेरै महिना लाग्ने गर्दछ। यसक्रममा धेरै बिरामीहरुमा यो औषधीको प्रयोग गरिन्छ र यसको सकरात्मक र नकरात्मक दुबै पक्षको अवलोकन गरिन्छ। त्यसपछि पुर्ण रुपमा सन्तुष्ट भएपछि मात्रै स्वीकुती दिइने गरिन्छ।
तर यो पटक रुसमा ३ सय ३० जनामा मात्रै परिक्षण गरिएको यो औषधीले राम्रो काम गर्ला कि नगर्ला भन्ने अनुमान गर्न सकिएको छैन। यसअघि कोरोना भाइरसको विरुद्धमा बनाइएको औषधी हाइड्रोक्सीरोक्विनप्रति पनि निकै आशा राखिएको थियो तर सफलता भने हात परेकाे थिएन।