राष्ट्रियसभामा नेपाल सरकारको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको सो वार्षिक प्रतिवेदन पेश गरेकी हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ८८ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको जानकारी दिए। देवकोटाका अनुसार आज थपिएका नयाँ संक्रमित मध्ये २ सय ७० जना पुरुष र १८ जना महिला रहेका छन्। आज सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएका छन्।
काठमाडौंमा चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं मेडिकल कलेजमा कार्यरत चारजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४ देखि ३२ वर्षसम्मका तीन जना महिला र २८ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
रुसका अस्पतालहरुले अर्को सातादेखि कोरोना भाइरस (कोभिड–१९) को एन्टीभाइरस औषधी प्रयोगमा ल्याउने भएका छन्। रुसका सम्प्रभु वेल्थ फण्ड आरडीआईएफका प्रमुख किरील दिमित्रेवले समाचार एजेन्सी रायटर्सको एक संवादमा एविफैविर नामक यो औषधी कोरोना भाइरसको लागि प्रभावकारी भएको भन्दै अर्को सातादेखि संक्रमितलाई दिइने बताएका हुन्। उनकाअनुसार औषधी उत्पादक कम्पनीले एक महिनामा ६० हजार मानिसको लागि औषधी उत्पादन गर्ने छ। हालसम्म कोरोना भाइरसको कुनै पनि औषधी तथा भ्याक्सिन बनिसकेको छैन। विश्वका धेरै मुलुका वैज्ञानिकहरुले औषधी बनाउने प्रयासमा जुटिरहेका छन् भने केही औषधी बनिसकेको भए पनि परिक्षणको लागि अनुमती पाइसकेका छैनन्।
प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट रु एक लाख उपलब्ध गराउने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
लकडाउनको समयमा जुवा खेलिरहेका नौँ जना व्यापारीहरु काठमाडौंबाट पक्राउ परेका छन्। काठमाडौँको कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका उनीहरु सोमबार साझँ पक्राउ परेका हुन्। होटल सञ्चालकसहित ९ जनालाइ २ लाख ७७ हजार नगद र केही क्वाइनहरुसहित प्रहरीले पक्राउ गरेको हो।
स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसीले आजदेखि अनसन सुरू गरेका छन्। केसीले दार्चुला सदरमुकाम खलंगामा अनसन थालेका हुन्। उनको यो १८औं अनशन हो । चिकित्सा शिक्षा सुधारलगायत विभिन्न विषयमा केसी पटकपटक अनशन बस्दै आएका छन्। यो पालिको उनको अनशन दुई दिनसम्म चल्नेछ।
चलचित्रकर्मी मनोज पंडितले लकडाउनका कारण नेपाली चलचित्र क्षेत्रलाई कुनै असर नगरेको टिप्पणी गरेका छन्। नेपाली पब्लिकसँगको अन्र्तवार्ताको क्रममा उनले नेपाली सिने क्षेत्रको लागि लकडाउन आवश्यक रहेको बताए। सिनेक्षेत्र पहिलेदेखी नै लकडाउनमा थियो’’, पंडितले भने, ‘‘यो लकडाउनले सिनेक्षेत्रलाई केहि असर गरेको छैन्।’’ लकडाउनले सिनेकर्मीहरुलाई रचनात्मक भएर सिनेक्षेत्रको उत्थानको विषयमा सोच्ने अवसर जुराएको उनले बताए।
काठमाडौँ उपत्यकामा यसअघि लिइएको एक साता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार सार्वजनिक निर्माणकार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाले प्रयोग गर्दै आएको सवारी पाससमेत थपिएको बन्दाबन्दीको अवधिमा प्रयोग गर्न पाउनेछन् । निलो रङ्गको पास मात्रै मान्य हुनेछ ।
पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ। राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त चापागाईको नेतृत्वमा आएको टोलीले घटनाका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी, पीडित परिवार र सरोकार पक्षसँग भेटघाट गरेको छ।
नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५ सय ८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन् । निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ ।
नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार ९मन्त्रिपरिषद्० को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो व्यवस्था गरिएको राजदूतावासद्वारा सोमबार जारी सूचनामा जनाइएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा बहिरङ्ग सेवा शुरु भएपछि सर्वसाधारण खुशी भएका छन् । अस्पतालमा भर्ना भएका ७१ जना कोरोना सङ्क्रमित निको भइ घर फिर्ता भएपछि अस्पताललाई सङ्क्रमण मुक्त गरी डायलायसिस, इमर्जेन्सीसहित आजदेखि बहिरङ्ग सेवा शुरु गरिएको हो । अस्पतालमा आउने बिरामीलाई सामाजिक दूरी कामय राख्दै सेवा लिने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २ सय भत्ता दिँदै आएको छ। यही जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक रु २ सय भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताए।