भारतीय उत्तरपूर्वी आसाम राज्यमा विगत केही दिनदेखि परेको भारी वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको छ । राज्य सरकारका अधिकारीहरूले मङ्गलबार दिएकाे जानकारी अनुसार, आसामको चचार, हैलाकाँडी, करिमगञ्जलगायतका जिल्लामा गएकाे पहिरोमा पुरिएर उनीहरुकाे मृत्यु भएकाे हाे ।
प्राप्त सूचनाअनुसार चचारमा सात, हैलाकाँडीमा सात र करिमगञ्जमा छ जनाको ज्यान गएकाे छ । मृत्यु हुनेमा एकै परिवारका धेरै सदस्यहरू पनि रहेकाे बताइएको छ। चचारकाे विपद व्यवस्थापन कार्यालयका आयोजना प्रमुख शमिम लश्करले भने, “पहिरो जाँदा सात व्यक्तिको मृत्यु भएको छ भने केही घाइते भएका छन्।” चचारमा मृत्यु भएकामध्ये ६ जनाको शब निकालिएको छ भने सातौँ व्यक्तिको खोजी भइरहेको उनले बताए ।
हैलाकाँडीमा पनि पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको र पाँच जना घाइते भएको जिल्लाका उच्च अधिकारीले पुष्टि गरेका छन्। हैलाकाँडीको अल्गापुर क्षेत्रमा गएको पहिरोमा परी सात जनाकाे मृत्यु हुनुका साथै र पाँच जना घाइते भएकाे चिनिया समाचार संस्था सिन्ह्वाले जनाएकाे छ ।
घाइते पाँचै जनालाई स्थानीय अस्पतालमा पुर्याइएकाेमा दुई जनालाई सामान्य उपचारपछि घर पठाइएको छ भने तीन जनाको उपचार भइरहेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार करिमगञ्जमा कम्तीमा छ व्यक्तिको मृत्यु भएको र अन्य १० जना घाइते भएका छन्।