काठमाडौं– सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले आकस्मिक लगायत सबै सेवा अनिश्चितकालको लागि बन्द गरेको छ। अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएपछि आकस्मिकसहित सबै सेवा बन्द गरिएको हो।
बुधबार (आज) अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमणकाे जोखिम हुने भएकाले अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ।
जारी सुचनामा २ जना स्वास्थ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको र कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको उल्लेख छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने काठमाडौं मेडिकल कलेजमा कार्यरत चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको बताएकाे थियाे।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा २४ देखि ३२ वर्षसम्मका तीन जना महिला र २८ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे थियाे।