काठमाडाैं - नेपालमा बुधबार २ सय १ जना काेराेनाका नयाँ संक्रमित फेला परेका छन्। योसँगै नेपालमा संक्रमितहरुको संख्या २ हजार ३ सय पुगेको छ। यीमध्ये ९ जनाको मृत्यु भइसकेको छ भने २ सय ७८ जना उपचारपछि निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न जिल्लामा गरी २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। जसमा एक सय ७९ पुरुष र २२ जना महिला रहेका छन्।
मन्त्रालयकाे तथ्याङ्क अनुसार, बुधबार सबैभन्दा धेरै कपिलबस्तुमा ६९ जना संक्रमित थपिएका छन् भने रूपन्देहिमा २७ तथा सर्लाहीमा १५ जनामा संक्रमण देखिएकाे छ।त्यस्तै धनकुटा र सप्तरीका १/ १, ताप्लेजुङका ३, झापाका १, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका र सुनसरीका १/ १ जनामा संक्रमण भेटिएकाे छ। कैलालीका ३, डोटीका २, , पाल्पाका २, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, , सिन्धुपाल्चोकका १ जना संक्रमित थपिएको मन्त्रालयकाे तथ्याङ्क छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म ८० हजारभन्दा बढीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने देशभरि कुल १ लाख ५५ हजार ८ सय ६८ मानिस क्वारेन्टिनमा छन्। त्यस्तै अहिलेसम्म ६४ जिल्लामा काेराेना भाइरसकाे संक्रमण फैलिसकेकाे छ।