कोरोना भाइरस संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको बेलामा सरकारले नेपालमा स्वास्थ्य संकटकाल घोषणाको तयारी गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार भन्दा धेरै कोरोना भाइरसका सक्रमित देखिएकाले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको हो।
नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार ७६ वर्षीय वृद्धको कोरोना संक्रमणकै कारण ज्यान गएको हो । उनी दोलखाको रहेका मन्त्रालयले जनाएको छ । गत जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका उनमा १५ गते काेराेना पुष्टि भएकाे थियाे ।
नेपालमा बुधबार २ सय १ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्। योसँगै नेपालमा संक्रमितहरुको संख्या २ हजार ३ सय पुगेको छ। यीमध्ये ९ जनाको मृत्यु भइसकेको छ भने २ सय ७८ जना उपचारपछि निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न जिल्लामा गरी २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। जसमा एक सय ७९ पुरुष र २२ जना महिला रहेका छन्।
आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद बढाएको छ। मंगलबार मात्र विभागले जेठ २५ गतेभित्र कर तिरिसक्नु पर्ने भन्दै सूचना जारी गरेको थियो। त्यस्तै कर समयमा नबुझाए जरिवााना लाग्ने सूचनामा उल्लेख गरिएको थियो। त्यसको चौतर्फी आलोचना भएपछि विभागले नयाँ सूचना निकालेर कर तिर्ने म्याद थप गरेको हो।
कर बुझाउन सरकारले दिएको निर्देशनकाे विराेधमा वीरगञ्जमा आज यूवा तथा व्यापारीहरुले अर्धनग्न प्रदर्शन गरेका छन्। सत्तारुढ नेकपा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष रहबर अंसारीको नेतृत्वमा यूवाहरुले विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले आफ्ना लुगा अर्थमन्त्रीलाई बुझाउने बताएका छन्।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले आकस्मिक लगायत सबै सेवा अनिश्चितकालको लागि बन्द गरेको छ। अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएपछि आकस्मिकसहित सबै सेवा बन्द गरिएको हो। बुधबार (आज) अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमणको जोखिम हुने भएकाले अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ।
स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन्। अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशन ९हेकाफ ३६०० ले आज उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्यावस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसनकक्ष स्थापना गरी त्यहाँ राखिने बताए ।
विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब १२ अर्ब रूपैँया उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले विकास नीति ऋणअन्तर्गत आज उक्त रकम नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो । नेपालको ऊर्जा क्षेत्रबाट प्राप्त हुने आर्थिक विकासका सम्भावनालाई दृष्टिगत गरी बैंकले नीतिगत प्रमुख विषय, नियमन तथा संस्थागत सुधार गर्न ऋण स्वीकृत गरेको वासिङ्टनडिसीस्थित बैंकको प्रधानकार्यालयले जनाएको छ ।
पोखरा महानगरपालिका–१५ मा झण्डै ४ ट्रकभन्दा बढी तरकारी (सागसब्जी) खाल्डोमा हालेर पुरियो । सागसब्जी पुर्दा प्रहरी तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको समेत उपस्थिति थियो । पोखरा महानगरपालिकाले जेठ ११ गते नै आयातित तरकारीलाई निषेध गर्ने निर्णय गरेकाले पनि तरकारी नष्ट गर्न बल पुगेको देखिन्छ । महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले कोरोना सङ्क्रमणको डरले नष्ट गर्न भन्दै स्थानीयबाट माग आएपछि नष्ट गर्नुपरेको प्रस्टीकरण दिए ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान झडप हुँदा १५ जना घाइते भएका छन् भने झडप नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ। जग्गा सम्बन्धी विवादमा स्थानीय दुई पक्षबीच भएको झडपमा दुवै पक्षले एकअर्कामाथि घरेलु हतियार प्रहार गरेका थिए।
जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएको बताइएको छ । स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण गरेको घाइते स्वास्थ्यकर्मी कुँवरको आरोप छ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ समूहकी पोलिटव्युरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् ।कैलालीमा पक्राउ परेकी भुजेललाई कैलाली प्रहरीले मङ्गलवार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको हो । सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा रहेको र आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालतमा पेश गरिएको गोरखाका प्रहरी प्रवक्ता डीएसपी वासुदेव खतिवडाले जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव–मानवबीचमा जातका आधारमा भेदभाव तथा छुवाछूतजन्य व्यवहार र गतिविधि देखिनु विडम्वनापूर्ण रहेको बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज एक सन्देश प्रकाशित गर्दै उनले समाजमा अहिले पनि सामन्तवादको अवशेषका रूपमा छुवाछूतजन्य व्यवहार कायम रहेको र यस्तो कुरा रत्तिभर पनि सह्य नहुने स्पष्ट पारे।
मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयमा भएको आगलागीबारे छानविन गर्न गाउँपालिकाले समिति गठन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सुकमाया थिङको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको गाउँपालिका अध्यक्ष टङ्क मुक्तानले जानकारी दिए । समितिलाई १० दिनभित्र छानविन प्रतिवेदन गाउँपालिकामा पेश गर्न समय दिएको छ । गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका बेला सौर्यऊर्जा प्रणालीबाट विद्युत् सर्ट हुँदा भएको आगलागीमा करिब रु चार करोड मूल्य बराबरको क्षति भएको गाउँपालिकाको अध्यक्ष मुक्तानले बताए ।