काठमाडाैं - कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुको साटो सरकारको ध्यान अन्यत्र जाँदा मुलुक रोग र भोकको चपेटामा फस्दै गएको छ। लकडाउन सुरु भएको साढे दुई महिना हुन लाग्दा भाइरस संक्रमण देशभरि फैलिने अवस्थामा पुगेको छ। सरकार साढे दुई महिनाको समय कोरोनाविरुद्ध लड्ने थप तयारीमा प्रयोग गर्न चुकेको छ। महामारीका कारण आउनसक्ने संकटलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्नेलगायतको तयारीमा ध्यान दिन सरकार असफल भएको हो।
केही दिनयता संक्रमण तीव्र गतिमा बढेसँगै आइसोलेसन वार्ड अभाव हुन थालेको छ, क्वारेन्टिनको अवस्था दयनीय छ। पछिल्लो समय क्वारेन्टिन नै रोग सर्ने स्थान बन्ने त होइन भन्ने प्रश्न उठेको छ। न्यूनतम मापदण्ड पनि पूरा नभएका क्वारेन्टिनको समेत अभाव हुन थालेको छ। परीक्षण दायरा नबढाउँदा संक्रमणको आकलन अझै हुन सकेको छैन भने ज्यान गुमाएकाको कोरोना परीक्षण निधनपछि मात्र भइरहेको अवस्था छ।
लकडाउन लम्बिँदै जाँदा असंगठित क्षेत्रका मजदुरमात्र होइन, मध्यमवर्गीय परिवार पनि रोग होइन, भोकले मरिने त होइन भन्ने अवस्थामा पुगेका छन्। तर सरकारको ध्यान संक्रमणसँग जुध्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको जोहोसहितका व्यवस्थापकीय पक्षमा छैन, उल्टो विषयान्तर गरेर अकर्मण्यता छोप्ने र परिस्थिति आफ्नो अनुकूल बनाउन लकडाउनलाई उपयोग गर्ने नीतितिर अग्रसर छ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल केही परिस्थितिजन्य अवस्था र कतिपय नेतृत्वका कारण लकडाउनपछिको समय दुई महिनाको समय कोरोनाविरुद्धको तयारीमा सरकारले उपयोग गर्न नसकेको बताउँछन्। लकडाउनलाई नै सरकारले उपचार ठानेर बसेकै कारण क्वारेन्टिन, स्वास्थ्य सामग्रीसहितको व्यवस्थापकिय पक्ष कमजोर भएको पोखरेलको बुझाइ छ। ‘संक्रमणसँग जुध्नका लागि आवश्यक तयारीका लागि साधन थियो लकडाउन तर सरकारले त्यसलाई साध्य नै बनाइदियो,’ पोखरेल भन्छन्, ‘नेपालीको रोगप्रतिरोधी क्षमता बढी छ भन्ने अर्को व्याख्यामा बस्दा सरकार चुक्यो।’ यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन् ।