कञ्चनपुर - बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।
भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका ४२ थान साइकलसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए । चोरी गरिएका साइकल काठमाडौँबाट ल्याएका हौँ भनी भीमदत्तनगर बजार क्षेत्रका मझगाँउ, भासी, सिसैया, विचपुरीलगायतका गाउँमा बेच्दै आएका चार जनालाई साइकलसहित पक्राउ गरिएको उनले बताए । उनका अनुसार साइकल चोरीमा संलग्न जितेन्द्र बम, रोशन दमाइ, सन्तोष ओखेडा र नवीन कार्की रहेका छन् । पक्राउ परेका चारै जना भीमदत्त नगरपालिका–१८ बागवाणीका बासिन्दा रहेका छन् ।
यसैगरी कञ्चनपुरमा विभिन्न समयमा विद्युतीय पानी मोटर चोरी गर्ने, विद्यालयमा चोरी गर्ने, खोका पसलमा चोरी गर्ने तथा ब्रोइलर कुखुरा चोरीमा संलग्न २० जनालाई विभिन्न मितिमा पक्राउ गरी गरिएको उनको भनाइ छ । चोरी कार्यमा संलग्न भएका पक्राउ परेका सबै जनालाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र कैलालीको लम्कीचुहा नगरपालिकालगायत क्षेत्रका छन् । रासस