काठमाडाैं– कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आज (आइतबार) लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा पठाउने भएको छ। आज दिउँसो सिंहदरबारमा बस्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बैठकले लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव तयार पार्ने भएको हो।
त्यस्तै लकडाउनको मोडालिटीको विषमा निर्णय गर्न आजै साँझसम्म मन्त्रिपरिषद बैठक बस्न सक्ने उच्च स्रोतले जनाएको छ।उद्योगी व्यवसायीलाई कर तिर्न ताकेता गरिरहेकाले बाध्य भएर उघोग तथा पसलहरु खुल्न थालेपछि सरकारलाई दबाब पर्न थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञहरुसँग लकडाउनको माेडालिटी परिवर्तन गर्ने विषयमा छलफल गरेका थिए।
जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीको प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको थियो। त्यसको ५ दिनपछि बसेको जेठ २२ गतेको मन्त्रिपरिषद बैठकमा उच्चस्तरीय समिति प्रस्ताव पेश गर्न सकेको थिएन। कोरोना भाइरसको २ जना संक्रमित भेटिएपछि नेपाल सरकारले माहामारीको जोखिम रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लकडाउन गरेदेखि सर्वसाधरणको जनजिवन अस्तव्यस्त बन्न थालेको छ।