काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न भोलि (सोमबार) सचिवालय समितिको बैठक बोलाएको छ। नेकपाका अध्यक्षद्धयबिच आज (आइतबार) दिउँसो प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ। उनीहरूकाे भेटवार्ता पछि भोली अपराह्र ४ बजे नेकपा सचिवालय समितिको बैठक बस्ने निर्णय भएको हो।
एमसीसीबारे अध्ययन गर्न नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावलका साथै अर्थमन्त्री डा. युवराज खतिवडा समेत राखेर कार्यदल बनाएको छ। सो कार्यदलले एमसीसी सम्झौता परिर्माजन गरेर मात्रै संसदबाट पास गर्न सुझाव दिएको छ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भने एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा छन्। तर अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) सहितका नेताहरु कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा पनि छलफल गर्नुपर्ने पक्षमा बोल्दै आएका छन्।
नेकपामा एमसीसी करिब एक वर्षदेखि विवादित छ। गत जेठ १७ गते बसेको सचिवालय बैठकले एमसीसीबारे निर्णय गर्ने जिम्मेवारी संसदलाई नै सुम्पिने निश्कर्ष निकालेको थियाे।