कास्की– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत काेराेना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज विज्ञप्ति जारी गरी पुष्टि गरेको हो ।
निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माकाे अनुसार यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका ती व्यक्तिको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो ।
मृतक २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनी मिर्गौला, मधुमेहलगायत रोगको बिरामी भएको बताइन्छ । गण्डकी प्रदेशमा कोभिड–१९ का सङ्क्रमित १ सय १५ जना पुगेका छन् ।
प्रदेशमा गत चैत १५ गते बागलुङकी एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । सङ्क्रमित मध्ये तीन जना निको भइसकेका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।