काठमाडाैं - भारतले नेपालका ७ जिल्लाका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण गरिदिने भएको छ।
गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेका ती विद्यालयहरुको पुनर्निर्माण गर्ने सम्बन्धी सम्झौतामा भारतीय राजदूतावास र नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले हस्ताक्षर गरेका छन्।
नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गतको यो परियोजनामा भारतले नेपाललाई २.९५ अर्ब आर्थिक सहयोग उपलब्ध गराउने छ। ती विद्यालयको भौतिक संरचना भूकम्प प्रतिरोधी हुने जनाइएको छ।
विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ। भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माण क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ।