१.थप ३१४ जनामा संक्रमण पुष्टी, थप एकजनाकाे मृत्यू
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। याे नेपालमा कोरोना संक्रमितहरुको संख्या ३ हजार ७ सय ६२ पुगेको छ। जसमध्ये ३ हजार ५ सय ६ जना पुरूष छन् भने २ सय ५६ जना महिला रहेका छन्।
२.विकास प्राधिकरण खारेज गर्न उपत्यकाका तीनै मेयरको माग
काठमाडौं, ललितपुर र भक्तपुरका मेयरहरुले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न सरकारसँग माग गरेका छन् । उपत्यका नगरपालिका फोरममार्फत विज्ञप्ति जारी गर्दै सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो ।
३.भारतले ५६ विद्यालय पुनर्निर्माणका लागि ३ अर्ब सहयोग गर्ने
भारतले नेपालका ७ जिल्लाका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण गरिदिने भएको छ।गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेका ती विद्यालयहरुको पुनर्निर्माण गर्ने सम्बन्धी सम्झौतामा भारतीय राजदूतावास र नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले हस्ताक्षर गरेका छन्।
४. सामाजिक क्षेत्रको बजेट राष्ट्रिय गौरवको आयोजना बन्न सक्छः महिलामन्त्री गुरुङ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत-गुरुङले कोभिड-१९ का कारण सामाजिक क्षेत्रमा बजेट सीमित भए पनि त्यसक्षेत्रमा राष्ट्रिय गौरवको आयोजना हुन सक्ने विश्वास गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत आफ्नो मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गताका क्षेत्रमा बजेट सीमित छ तर उद्देश्य फाराकिलो रहेको बताए।
५.मेलम्चीको पानी आगामी आवको शुरुमा वितरण हुने
काकाकुल राजधानीवासीले व्यग्र प्रतीक्षा गरिरहेको मेलम्चीको पानी आगामी आर्थिक वर्षको शुरुमै पूरा गरिने प्रतिबद्धता सरकारले जनाएको छ । आगामी आवमा खानेपानी मन्त्रालयअन्तर्गत विनियोजित बजेटका विषयमा सङ्घीय संसद् प्रतिनिधिसभाका सांसदले उठाएका प्रश्नको आज जवाफ दिँदै मन्त्री बीना मगरले मेलम्ची आयोजनाको भौतिक प्रगति अन्तिम चरणमा पुगेको बताए । आगामी आवको शुरुमै मेलम्चीको पानी सुरुङमा परीक्षण गरी उपत्यकामा वितरण गरिने दृढता उनले व्यक्त गरिन् ।
६.फेरि बढ्यो सुनको मूल्य
सुनको मूल्य आज (सोमबार) सय रुपैयाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ५ सय रुपैयाँ कायम भएको हो ।यसअघि आइतबार छापावाल सुन प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ ।
७.कोरोना रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर फर्किएका एक जनाको मृत्यु
महोत्तरीको गौशाला नगरपालिकाको क्वारेन्टिनमा बसेर घर फर्किएका एक जनाको मृत्यु भएको छ। शनिबार क्वारेन्टाइनबाट गौशाला नगरपालिका १० बटौलास्थित घर गएका ४० वर्षका पुरूषकोे आइतबार राति मृत्यु भएको हो। गत जेठ ६ गते भारतको हरियाणाबाट आएका उनलाई गौशाला नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो।
८.उच्च संक्रमण देखिरहँदा भारतमा खुल्यो होटल, रेष्टुरा, मल तथा धार्मिकस्थल
भारतमा कोभिड महामारीको संक्रमण उच्च देखिरहँदा सपिङ मल, रेस्टुराँ र धार्मिक स्थलहरु खुलाइएको छ।कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनबाट अर्थतन्त्र मात्र नभइ सामाजिक तथा सांस्कृतिक असरलाई न्युनीकरणका लागि त्यहाँको सरकारले अनलक–१ प्रावधानअनुसार होटल, मल, रेष्टुरा र धार्मिकस्थल खुला गरिएको हो ।
९.क्यानबेरा उड्दै नेपाल एयरलाइन्स
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।
१०.अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना
सोमबार देशको अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् । गए राति विकसित भएको भारी वर्षा गराउने प्रणाली भने हटिसकेको बताइएको छ ।