रूपन्देही– रूपन्देहीमा सामूहिक हत्याको आराेपमा एक जना पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आराेपमा सोही फार्ममा कार्यरत झपेन्द्र सिंजालीलाई प्रहरीले पक्राउ गरेकाे हाे।
घटनास्थल गाई फार्म नजीकै भेटिएका उनलाई एक महिला र चार पुरुषकाे हत्याकाे अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए।
घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले स्थानीयवासी कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने रुपन्देही सैनामैनाका ४० वर्षीय माधव मुसहर र ३७ वर्षीया जानकी मुसहरसहित तिलोत्तमा –९ का १४ वर्षीय पोखराज मुसहर, १५ वर्षीय आशिष चौधरी र १६ वर्षीय करण चौधरीको हत्या भएको जानकारी दिए।
उनका अनुसार अभियुक्तले खेत खन्ने फरुवा प्रहार गरी हत्या गरेका थिए। मृतकमध्येका माधव र जानकी दम्पती हुन्। उनीहरु सोही फार्ममा काम गर्दै आएका थिए। हत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन। पशु फारामका सञ्चालक पुनले फाराममा काम गर्ने मजदूरबीच अहिलेसम्म कुनै विवाद भएको आफूलाई थाहा नभएको बताएको सोही वडाका वडाध्यक्ष व्यासमुनि चौधरीले जानकारी दिए।