सप्तरी– डाका मुद्दामा फरार एक अभियुक्तलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरूङ्गा नगरपालिका–८ बस्ने हरिलाल रामका ३२ वर्षीय छोरा अनिलकुमार राम रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
फरार प्रतिवादी रामलाई इलाका प्रहरी कार्यालय कडोरबोनाबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालत राजविराजले विसं २०७१ असार १७ गतेको गरेको फैसलामा डाका मुद्दामा रामलाई अदालतले तीन वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका उनलाई जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको छ ।
लागुऔषधसहित युवक पक्राउ सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाबाट ठूलो परिमाणको लागुऔषधसहित एक युवक सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह बस्ने २२ वर्षीय अनिलकुमार मण्डल रहेको प्रनाउ तिलक भारतीले बताए ।
पक्राउ परेका उनको साथबाट एस्पोन्जमो प्रोक्सोभोन प्लस नामका तीन हजार १६८ क्याप्सुल, डिलक्स डिसी १०० एमेलका २८ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा खुरहुरियाबाट उनलाई पक्राउ गरिएको हो ।
बा६७प ४८५३ नंको मोटरसाइकलमा लोड गरी दक्षिणबाट उत्तरतर्फ ल्याउँदै गरेको बोरा शङ्का लागि जाँच गर्दा प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो । पक्राउ परेका उनलाई सप्तरी जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस