काठमाडाैं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेकाे छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्न गरे ।
उनले सरकारलाई प्रश्न गरे, ‘१ लाख ६६ हजार मानिस बस्छन् भनेर प्रधानमन्त्री आएर बताउनुहुन्छ, यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो ?’
पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहेका थापाले अहिलेसम्म कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नसमेत माग गरे । उनले भने, ‘५ वटा पीसीआर मेसिन किन्ने र २५ हजार वटा जम्मा किट किनेर १० अर्बको हिसाब किताब देखाउन पर्दैन ?’
निर्दाेष कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले प्रश्न गरे, “मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?” उनले विदशेमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए।
विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उनले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिका संयोजक ईश्वर पोखरेलसँग यसबारे सदनमा जवाफ दिनुपर्ने मागसमेत उनले गरे ।