काठमाडौं - राष्ट्रियसभाका सांसदले कोभिड–१९ कारण शुरु गरिएको बन्दाबन्दीका समयमा गर्भवती र सुत्केरीले भोग्नु परेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दीपा गुरुङले लामो समयसम्म बन्दाबन्दी हुँदा गर्भवती र सुत्केरीले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको बताउँदै उनीहरुको उपचारमा प्राथमिकता दिन सरकारलाई आग्रह गरिन् ।
उनले भनिन्, “ सुत्केरीलाई भएमा बढीमा एक वर्ष र घटीमा ६ महिनासम्म राम्रो खाना, बस्न र आरामको आवश्यकता पर्छ तर बन्दाबन्दीले गरीबलाई ग्रसित बनाएको छ, त्यसमाथि सुत्केरीलाई अझै ग्रसित बनाएको छ, उनीहरुलाई कम्तीमा समयमै उपचारको व्यवस्था गरियोस् ।”
नेकपाकै नन्दा चपाईंले भनिन् , “नेपालको सदनमा हिन्दी भाषा बोलिन्छ, सदनमा हिन्दी भाषा बोल्ने काम संविधानको कुन प्रावधान, कुन धारा र कुन भागमा छ, यो जान्न चाहन्छु, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्शामा छैन, हाम्रो हैन भन्ने सांसदलाई कारवाही किन हुँदैन, त्यस्तो बोल्ने सांसदलाई यथाशीघ्र कारवाही हुनुपर्छ ।”
सोही पार्टीकी नैनकला ओझाले नेपाल जस्तो कृषिप्रधान देशमा कृषकले उत्पादन गरेको फलफूल र तरकारीको उचित बजारको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन् । रासस